शुक्रबार जुम्लाको खलंगा बजार सरसफाइ गरिएको छ। बृहत् सरसफाइ अभियान सुरु गरेर सरसफाइ गरिएको हो। ‘आउनुस् हाम्रो नगरलाई सफा र सुन्दर बनाउन हातेमालो गरौं’ भन्ने नारा लिइएको छ। जुम्लाका समन्वय प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा यो अभियान थालिएको हो।
कर्मचारी मिलन केन्द्र, चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाको संयुक्त आयोजना थियो। सदरमुकामलाई स्वच्छ राख्ने उद्देश्यले यो अभियान थालिएको हो। समन्वय प्रमुख प्रजिअ केदारनाथ शर्माको टोलीले नेपाली सेनाको खेलमैदान टुडिखेल, बालमन्दिर, कालेखोली, सशस्त्र प्रहरी प्रमुख निलकमल आचार्य र सहायक प्रजिअ मिनबहादुर रावलको नेतृत्वको टोलीले टुडिखेल हुँदै विजयनगर, बसपार्कदेखि जिल्ला प्रशासन अगाडिसम्म र नेपाली सेना मेजर रामेश्वर कार्कीको नेतृत्वको टोलीले जिल्ला खेलकुद विकास अगाडिदेखि जुगाडखोला लाइन र नगर प्रहरी, नेपाल प्रहरीका प्रमुख रबिन बाबु रेग्मी र रेडक्रसले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अनामनगर लाइनमा सरसफाइ गरेको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए। फोहोर संकलनका लागि नगरपालिकाको डोजर र ट्याक्टर प्रयोग गरिएको थियो।
जुम्लामा लाग्ने कर्णालीकै लामो कृष्ण जन्माष्टमी जात्रालाई लक्षित गरी सरसफाइ अभियानलाई निरन्तरता दिइनेछ। समन्वय प्रमुख आचार्यले दिनहुँ नगरलाई सफा, सुन्दर र सभ्य नागरिकको पहिचान झल्काउन जरुरी रहेको बताए। उनले भने, ‘समय मिलाएर सरसफाइ अभियान चलाउँदा मात्र बजार सफा हुन्छ। नगरवासी पनि आफ्नो जिम्मेवारी बहन गर्ने दायित्वबाट विमुख भइरहेका छन्।’
बजारको सौन्दर्य सफा राख्न नगरवासीले आफ्नो दायित्व सम्झिनुपर्ने बताउँछन्। प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आफ्नो शहर आफैं सफासुग्घरको पहिचान दिनुपर्ने बताए। उनले भने, ‘फोहोरको उचित व्यवस्थापन गर्नु पनि हाम्रै दायित्व हो। व्यवहारमै सफा नगर बनाउन सबै नागरिकको सहभागिता जरुरी छ। जुम्ली फोहोर स्थानीय प्रशासनले उठाउने जस्तो व्यवहार देखियो यो पटक्कै राम्रो सन्देश होइन।’ स्वच्छ जुम्ला स्वच्छ खलंगा राख्नुपर्ने र त्यसको निम्ति सबैले चासो र चिन्तन राख्नुपर्ने उनले बताए।
बिहान बजार सफा देखिएको थियो। चन्दननाथ नगरपालिका भित्र तीन हजार ९ सय ९६ परिवारको बसोबास छ। हरेक परिवारबाट नगरमा दैनिक एक सय ७० ग्राम फोहोर उत्पादन हुन्छ। प्रतिदिन नगरपालिकामा ६ सय ७९ केजी फोहोर थुप्रिरहेको छ। हरेक महिना २० हजार तीन सय ७९ केजी र हरेक वर्ष दुई लाख ४४ हजार पाँच सय ५५ केजी फोहोर निस्केपछि सुन्दर नगर कुरुप बन्ने पक्का छ। हातमा रबरको पञ्जा, मुखमा मास्क र कुचो समातेर सरसफाइ गरिएको थियो।
प्रकाशित: २३ श्रावण २०८२ २२:०६ शुक्रबार





