कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल गर्ने आश्वासन दिएका छन्।
मंगलबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापन पत्र बुझ्दै उनले विधेयकको विषयमा थप छलफल गर्ने आश्वासन दिएका हुन्।
उनले संसद् भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकाले सरोकारवाला दलहरूसँग छलफल गरेर अगाडि बढ्ने स्पष्ट पारे।
विधेयकमा थप छलफल आवश्यक रहेकाले विधेय पास हुन ढिलाइ हुनसक्ने उनले बताए। पत्रकारसँग जोडिएका सङ्घसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले अब यसलाई थप छलफल गरेरै अगाडि बढाउने उनको भनाइ छ।
आफू प्रेस स्वतन्त्रता तथा संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा प्रतिबद्ध भएको उल्लेख गर्दै उनले पत्रकारहरूको मागलाई सकारात्मक रुपमा लिएको बताए।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का तथा महासचिव हिमा चेम्जोङले पत्रकारहरूका माग र सम्बोधन गर्नुपर्ने विषयका बारेमा संस्थागत धारणा राखेका थिए।
प्रकाशित: १० भाद्र २०८२ १९:३७ मंगलबार





