१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सामूहिक चिहानको सिरानीमा सहिद स्मारक

चारैतिरका अजंग पहाडबिचमा रहेको सानो गाउँ पाटेगुम्चाल। गाउँको तलतिर रहेको खालीचौरवरिपरि पर्खालमाथि रंगिचंगी अर्धकदका सालिकसहितको सहिद पार्क छ। 

जसले जोसुकैको मन उत्सुक र कौतुहल बनाउँछ। चिहानहरूको सिरानीमा ४६ वटा अर्धकदका सालिक छन्। यी अर्धकदका सालिक २०५८ साल चैत ४ गते बिहानै गोली हानेर मारिएका व्यक्तिका हुन। लुङग्री गाउँपालिका–६ पाटेगुम्चालका १६ जनासहित तत्कालीन माओवादीको जनमुक्ति सेनाको तालिम लिन/दिन आएका ३० जना गरी ४६ रोल्पालीले बिहानै झिसमिसेमा ज्यान गुमाएका थिए।

पाटेगुम्चालको त्यो बिहानीले आज पनि स्थानीयलाई तर्साउँछ। कल्पनासम्म गर्दा पनि स्थानीयको अनुहार अँध्यारो हुन्छ। एकनास उमेरका ४६ युवाको सामूहिक हत्या गरिएको स्थानमा गाउँपालिकाले सहिद पार्क बनाउन थालेपछि मृतकका परिवारले थोरै भए पनि न्यायको अनुभूति गरेका छन्। माओवादी लडाकुका लागि तालिम केन्द्र सञ्चालन गरिएको त्यो स्थानमा तत्कालीन शाही नेपाली सेनाले गरेको कारबाहीमा ४६ जनाले ज्यान गुमाएका थिए।

दाहिने हिप छेडेर गोली निस्किएपछि रगत बगाउँदै भागेका उक्त घटनाका एकमात्र जीवित साक्षी हुन् ४२ वर्षीय चन्द्रबहादुर बस्नेत, जो त्यो दिन सम्झिँदा पनि गम्भीर बन्छन्। आँखैअगाडिको त्यो विभत्स दृश्य २५ वर्षपछि पनि उनको मनमा ताजै छ। ‘राति २/३ बजे तालिम केन्द्रसहित पुरै भूगोल शाही सेनाले घेरेछ। वरिपरिका डाँडामा पनि छपक्कै सेना भरिएका रहेछन्। उज्यालो हुँदै थियो। बिहानको रोलकल गर्नै लाग्दा सेनाले गोली चलाउन थाल्यो। हेर्दाहेर्दै कोलाहल मच्चियो। भिरालो जमिनमा रगतको भल बग्न थाल्यो।’

बस्नेतका अनुसार माओवादी लडाकु तालिममा सहभागी ३० जनासँगै घर गोठमा रहेका निर्दोष १६ जना पनि मारिए। उनले सुनाए, ‘म जनकलाकारमा थिएँ। तर घर गोठमा रहेका १६ जनालाई बिनाकारण गोली हानेर मारियो। उनीहरूको माओवादी युद्धसँग लिनुदिनु केही थिएन। घर गोठबाटै थुतेर मारियो।’

घटनाको ३० घण्टापछि ४६ वटा शवलाई माओवादीका केही लडाकुको सहयोगमा स्थानीयले खाल्डो खनेर हालको सहिदपार्क स्थल वरपर गाडेर सामूहिक अन्त्येष्टि गरेका थिए। त्यो घटनापछि गाउँ एक प्रकारले फेरियो। माओवादीसँग स्थानीयको सम्बन्ध तिक्ततापूर्ण रह्यो। स्थानीयले लामो समयसम्म माओवादीलाई गाउँ प्रवेशमा अलि कडाइ गरे। बस्नेत भन्छन्, ‘गाउँका निर्दोष मारिएपछि स्थानीय माओवादीसँग नराम्ररी रिसाएका थिए। तर पछि घटनामा राज्यको अपराध भन्ने स्थानीयले बुझेपछि सम्बन्ध सुधार भएको हो।’

माओवादी शान्ति प्रक्रियामा आएपछि राज्यले समेत सहिद मानेका ती ४६ जनामध्य धेरैका परिवार अहिले समस्याका चाङमा छन्। राज्यले दिएको राहत गतिलो व्यवस्थापन नहुँदा त्यसै सकियो। कतिपयका परिवारको उठीबास लाग्यो। एक स्थानीय भन्छन्, ‘पार्कसम्म व्यवस्थित बनाउन सके सहिदका परिवारले न्याय महसुस गर्ने थिए। केही नभए पनि आफन्त सम्झिने बाटो त हुन्थ्यो। व्यवस्था परिवर्तनका लागि ४६ जनाको एकै चिहान भएको स्थानमा कम्तीमा गतिलो पार्क त बनाइदिनु नि।’

सामूहिक परिपूरणअन्तर्गत बनाइने स्मारक, पार्कले पीडित परिवारमा थोरै भए पनि न्यायको महसुस हुने द्वन्द्वका विश्लेषकहरू बताउँछन्। यसै कुरालाई मनन गर्दै लुंग्री गाउँपालिकाले ४६ जना मारिएको स्थानमा सहिद पार्क बनाउन सुरु गरेको छ तर बजेट अभावमा योजना अपुरो छ। गाउँपालिका अध्यक्ष भरतकुमार थापा भन्छन् ‘हामी निर्वाचित भएर आएपछि २०८० सालबाट सहिद पार्क निर्माण सुरु गरेका हौँ। प्रदेश सरकारको ३० लाख र संघीय सरकारको ४० लाख रुपैयाँ केही काम गरेका छौँ।’

अध्यक्ष थापा यही कार्यकालमा पार्क निर्माण गरेर सकाउने योजनामा छन् तर बजेट छैन। ‘स्थानीय तहको पनि केही बजेट लगायौँ तर पनि योजना सकिएन। आगामी आर्थिक वर्ष बजेट आएमा सहिदको सम्झनामा बनाउन थालेको पार्कलाई व्यवस्थित बनाउने छौँ।’

माओवादी द्वन्द्वताका रोल्पामा सामूहिक हत्याका धेरै घटना छन् तर संख्याका हिसाबले यो नै ठुलो हो। त्यसो त पूर्वी रोल्पाको गाममा रहेको नेपाली सेनाको शिविरमा माओवादीले २०५९ साल वैशाख २४ गते आक्रमण गर्दा मेजर नीलकण्ठ खड्कासहित १ सय बढी मारिएका थिए। २०६५ असार ८ गते भावाङमा ११ जना जनकलाकारको सामूहिक हत्या भएको थियो। 

त्यस्तै २०५६ साल फागुनमा माओवादी लडाकुले घर्तीगाउँ प्रहरी चौकीमा आक्रमण गर्दा प्रहरी निरीक्षकसहित ११ प्रहरी मारिएका थिए। रोल्पाकै हार्जङमा माओवादीले स्थानीय नौ युवालाई घरभित्र थुनेर जलाएका थिए। थवाङमा भएको सुरक्षा कारबाहीमा मानिस मात्र मारिएनन्, दर्जनौँ घर पनि जलाइएका थिए। 

प्रकाशित: २६ जेष्ठ २०८३ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App