काठमाडौंमा सामाजिक सञ्जालमार्फत युवतीहरूका आपत्तिजनक तथा कामुक दृश्यहरू सार्वजनिक गर्दै प्रचार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम–३ घर भई काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्। उनले विभिन्न युवतीका भिडियो तथा आपत्तिजनक हाउभाउसहितका दृश्य सामाजिक सञ्जालमा अपलोड गर्दै प्रचार गर्ने गरेको प्रहरीको आरोप छ।
प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि लामा आफ्नो हुलिया परिवर्तन गरी फरार हुने प्रयासमा रहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ।
उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, भद्रकालीबाट पाँच दिनको म्याद थप गरिएको छ।
प्रकाशित: २९ भाद्र २०८३ १४:०२ सोमबार





