बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका ४ तिनाडी स्थायी घर भई हाल बर्दियाको ठाकुरबाबा नगरपालिका ७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी रहेका छन्।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु प्र ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक जैसी घाइते भएका थिए भने मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका ९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। त्यसक्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा दुर्घटनापछि घाइते अवस्थामै रहेका थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरमा प्रयोग भएको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको खुलेको छ।
त्यसपछि मृतकले लगाएको माला र डोरीले घाँटी कसी हत्या गरी शव सिँचाइ नालामा फालेर फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। जैसीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।
प्रकाशित: १९ श्रावण २०८३ १६:४९ मंगलबार





