८ मंसिर २०८३ मंगलबार
image/svg+xml
समाज

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन्।

बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उहाँले पुर्खादेखि गर्दै आएको पेसा छाड्नु भएको छैन।

आधुनिकतासँगै गाउँघरदेखि सहर बजारसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइरहेको पण्डितले बताए।

पहिले हातले माटो मुछेर विभिन्न आकारका भाँडाकुँडा बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम सहज भएको उनको अनुभव छ।

‘पहिले हातले माटो मुछ्न र सामग्री बनाउन धेरै समय र मेहनत लाग्थ्यो। अहिले मेसिन ल्याएपछि माटोको सामग्री बनाउन सजिलो भएको छ यसले समय र मेहनत दुवै कम लाग्ने गरेको छ’, पण्डितले भने।

माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुके तथा पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउने गरिएको छ।

वर्षभरि नै सामान्य सामग्री बिक्री हुने भए पनि चाडपर्व तिहार र छठका बेला माग बढी हुने गरेकाले बिक्री पनि धेरै हुने गरेको पण्डितले बताए।

‘हेर्दा सजिलोजस्तो देखिए पनि माटाका सामग्री बनाउन मेहनत चाहिन्छ। सुरुमा माटो ल्याउनुपर्छ। त्यसपछि पानी मिसाएर मुछ्ने, मेसिनको सहायताले विभिन्न आकार दिने, घाममा सुकाउने, रङ लगाउने र भट्टीमा पोलेपछि मात्रै बिक्रीका लागि तयार हुन्छ’, उनले भने।

सुनसरीको चिमडीबाट माटो ल्याउने गरिए पनि अहिले त्यहाँ माटो पाउन छाडेकाले भाँडा बनाउन सप्तरीबाट माटो ल्याउनुपर्ने अवस्था रहेको पण्डितले बताए।

माटो ढुवानीका लागि ट्र्याक्टरमा रु १० हजारदेखि रु १५ हजारसम्म र टिपरमा ल्याउँदा रु २० हजारसम्म खर्च हुने गरेको उनको भनाइ छ।

एक गाडी माटोबाट करिब रु एक लाख ५० हजार मूल्य बराबरका सामग्री बनाउन सकिने पण्डितले जानकारी दिए।

तिहार र छठ पर्वका समयमा मात्रै रु एक लाखदेखि रु दुई लाखसम्मका सामग्री बिक्री हुने गरेको उनले जानकारी दिए।

‘यो हाम्रो पुख्र्यौली पेसा हो। आम्दानीको स्रोत पनि यही हो। वर्षभरि यही व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छौँ। अरू पेसा छैन। वर्षमा कति मूल्यका सामग्री बिक्री हुन्छ र खर्च कटाएर कति बचत हुन्छ भन्ने हिसाब राख्ने गरेका छैनौँ। खानलाउन परिवारलाई पुगेकै छ’, पण्डितले भने।

आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न सकिने र परिवारसँगै बस्न पाइने उनी बताउछन्। स्वदेशमै आफ्नै व्यवसाय भए विदेश जानुपर्ने बाध्यता नहुने उनको भनाइ छ।

पण्डितले बनाएका सामग्री बिक्रीका लागि बजारसम्म बोकेर लैजानुपर्ने अवस्था छैन। घर नजिकै बिहीबारे हाटबजारका कारण ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन्। त्यसैले बिक्रीका लागि बजारको समस्या छैन।

माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरेको पण्डितको भनाइ छ। अहिले केहीले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन्।

‘बाउबाजेले गर्दै आउनुभएको पेसा भएकाले यसलाई मैले निरन्तरता दिएको हुँ। यही काम गरेर घरपरिवारको खर्च धान्दै आएको छु। आफ्नो पुख्र्यौली पेसा जोगाउन पाउँदा खुसी छु’, पण्डितले भने। रासस

प्रकाशित: ८ मंसिर २०८३ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App