८ मंसिर २०८३ मंगलबार
image/svg+xml
सम्पादकीय

महिला श्रमको अवमूल्यन

महिलाको श्रमलाई सम्मान गर्ने भाषण र प्रतिबद्धताको कमी छैन। संविधानले पनि समानताको हक सुनिश्चित गरेको छ। श्रम कानुनले न्यूनतम पारिश्रमिक, सुरक्षित कार्यस्थल र श्रमिकका सामाजिक सुरक्षाका अधिकार पनि प्रत्याभूत गरेको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालले महिला सशक्तीकरण र लैंगिक समानताका प्रतिबद्धता दोहोर्‍याउँदै आएको छ तर व्यवहारमा श्रम गर्ने महिलाको अवस्था हेर्ने हो भने यी प्रतिबद्धता कागजबाट बाहिर निस्कन सकेका छैनन्। अनौपचारिक क्षेत्रमा कार्यरत महिलाको अवस्था पाँच वर्षमा पनि उस्तै रहनुले यही विडम्बना उजागर गर्छ।

बियोन्ड बेइजिङ कमिटीले सन् २०२६ मा गरेको नमुना अध्ययनले महिला श्रमिकको अवस्था सुधार हुन नसकेको देखाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका तीनवटा गलैंचा कारखानामा गरिएको अध्ययनले समान कामको समान ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्य बिमा, बिदा र सुरक्षित कार्यस्थलजस्ता आधारभूत अधिकारसमेत महिलाले नपाएको देखाएको छ। यो अध्ययनको निष्कर्षले एउटा क्षेत्रको समस्या मात्र उजागर गरेको छैन, मुलुकको श्रम बजारमा विद्यमान लैंगिक विभेदको गहिराइ पनि देखाएको छ।

अझ चिन्ताजनक पक्ष पाँच वर्षअघिको अवस्थासँग तुलना गर्दा पनि उल्लेख्य सुधार नहुनु हो। सन् २०२१ मा बियोन्ड बेइजिङ कमिटीले गरेको अध्ययनले पुरुषको तुलनामा पारिश्रमिकबिना नै ६ गुणा बढी महिलाले काम गर्ने गरेको देखाएको थियो।

पछिल्लो अध्ययनले पनि महिलाको श्रमभार र त्यसको आर्थिक मूल्यांकनबिचको असमानता कायम रहेको देखाएको छ। महिलाले पुरुषको तुलनामा दैनिक औसत साढे चार घण्टा बढी काम गर्नुपर्ने अवस्था रहेको तथ्य आफैंमा गम्भीर छ। घरायसी काम, बालबालिका तथा परिवारको हेरचाह र उत्पादनमूलक काममा महिलाको योगदान  जोड्दा उनीहरूको श्रमको वास्तविक परिमाण अझ ठुलो हुन्छ। यही श्रमको मूल्यांकन भने सबैभन्दा कम हुने गरेको छ।

गलैंचा उद्योगको उदाहरणले श्रमको अवमूल्यन कति गम्भीर छ भन्ने देखाउँछ। ऊनको डल्लो बनाउने महिलाले एउटा डल्लो तयार गरेबापत ७० रुपैयाँ पाउँछन्। दिनभरिमा चारवटा डल्लो बनाउँदा २८० रुपैयाँ आम्दानी हुन्छ। तीनजना महिला मिलेर ६ मिटरको गलैंचा बुन्दा प्रतिव्यक्ति सात हजार पाँच सयदेखि १० हजार रुपैयाँ पाउँछन्। त्यो गलैंचा तयार गर्न तीन महिना लाग्छ।

फिनिसिङको काम गर्ने महिलाले तीन दिनमा ७५० देखि एक हजार ३५० रुपैयाँसम्म पाउँछन्। उत्पादनको मूल्य र श्रमिकले पाउने पारिश्रमिकबिचको यो अन्तरले श्रम बजारमा विद्यमान असमानताको चित्र देखाउँछ। श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाउनु श्रमिकको बाध्यता मात्र होइन, कानुन कार्यान्वयन गर्ने निकायको असफलता पनि हो।

अनौपचारिक क्षेत्रको श्रमलाई राष्ट्रिय अर्थतन्त्रमा योगदानका रूपमा स्वीकार गर्ने तर त्यहाँ कार्यरत श्रमिकको अधिकार सुनिश्चित नगर्ने प्रवृत्ति आफैंमा विरोधाभासपूर्ण छ। नेपालको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको योगदान ठुलो छ।

कृषि, घरेलु उद्योग, निर्माण, सेवा, साना उत्पादनमूलक उद्योग र स्वरोजगारका क्षेत्रमा ठुलो संख्यामा महिला संलग्न छन् तर यस्ता श्रमिकको श्रमको अभिलेख राख्ने, उचित पारिश्रमिक सुनिश्चित गर्ने र सामाजिक सुरक्षामा समेट्ने राज्यको क्षमता कमजोर छ। यसले महिलालाई आर्थिक रूपमा परनिर्भर मात्र बनाउँदैन, गरिबी र असमानताको चक्रबाट बाहिर निस्कन पनि कठिन बनाउँछ।

सरकारले श्रम ऐन संशोधनका क्रममा अनौपचारिक क्षेत्रलाई समेट्ने गरी प्रारम्भिक मस्यौदा तयार भएको बताएको छ। यो सकारात्मक पहल हुन सक्छ तर कानुन संशोधनको प्रक्रिया अघि बढ्नु र श्रमिकले अधिकार पाउनु फरक विषय हुन्।

नेपालमा कानुनको अभावभन्दा कार्यान्वयनको कमजोरी बढी देखिन्छ। भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्न नसक्ने राज्यले नयाँ कानुन ल्याएर मात्रै समस्या समाधान गर्न सक्दैन। श्रम निरीक्षण, नियमित अनुगमन, रोजगारदाताको जवाफदेहिता र कानुन उल्लंघन गर्नेमाथि कारबाही प्रभावकारी नबनाएसम्म संशोधनको मस्यौदाले महिला श्रमिकको जीवनमा परिवर्तन ल्याउँदैन।

महिलाको श्रमलाई सस्तो श्रमशक्ति ठान्ने र उनीहरूको बाध्यतालाई उद्योगको नाफाको आधार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ। सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको पहिचान र अभिलेखीकरण गर्दै न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, स्वास्थ्य बिमा, बिदा र सुरक्षित कार्यस्थल सुनिश्चित गर्नुपर्छ। 

प्रकाशित: ८ मंसिर २०८३ ०६:०० मंगलबार

Download Nagarik App