२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

देशभरका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

फाइल तस्बिर

विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्गमा यातायात सञ्चालनका लागि समयसीमा तोकिएको छ। मकवानपुरतर्फ त्रिभुवन राजपथ र कान्ति राजमार्गमा सवारी साधनको प्रकार अनुसार आवागमनको व्यवस्था मिलाइएको छ।

नुवाकोटको टोखा-छहरे सडक खण्डमा वर्षाका कारण रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाइएको छ भने रसुवा जाने मुख्य पासाङ ल्हामु सडक खण्ड त्रिशुली नदीको कटान र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यसैगरी, धादिङको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र चालिसेमा पहिरो तथा बाढीले सडक भासिएका कारण आवागमन पूर्ण तथा आंशिक रूपमा प्रभावित बनेको छ।

देशका अन्य दुर्गम क्षेत्रहरूमा पनि मौसमको प्रतिकूलताका कारण यातायात अवरुद्ध भएको छ। मुगुको नाग्म-गमगढी सडक खण्ड र रोल्पाको सहिद राजमार्गमा पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, ललितपुरको कान्तिलोकपथमा बाटो भासिएर एक लेन मात्र सुचारु रहेको छ भने कालिकोटको गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

हेर्नुस् प्रहरीले जारी गरेको विपद् सूचना
बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०५।२१ गते ०७;०० बजे सम्म ।
१. जि. काभ्रेपलाञ्चोक / सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू (वि.पि. राजमार्ग) सञ्चालन सम्बन्धमा ।
जि. काभ्रे / खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने वि.पि. राजमार्ग सडक खण्डमा मिति २०८२।०५।१६ गते देखि बेलुका १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टन तौल सम्मका मालबाहक सवारी साधन तथा ढुवानीका साधन संचालन हुने र बिहान ०४:०० बजेदेखि बेलुका १८:०० बजेसम्म निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरू सुचारु हुने ।

२.जि .मकवानपरको विभिन्न राजमार्गहरु मिति २०८३।०५।१६ गते देखि निम्नानुसार संचालन हुने ।
क) १० चक्कासम्मका सम्पुर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारी साधनहरु त्रिभुवन राजपथ हुदैं काठमाण्डौ तर्फ जाने र फर्किदा कान्ति राजमार्ग हुदैँ फर्किने व्यवस्था मिलाएको र मौषमको अवस्था र बाटो लगायत यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुदै हेटौडातर्फ आउने यात्रुवाहक सवारी साधनहरु अनिवार्य रुपमा साँझ ०६;०० बजे भित्रमा मकवानपुर जिल्लाको ईलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्न पर्ने ।
ख) १४ सिट भन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधनहरु हेटौडातर्फ आउँदा फर्पिङ – फाखेल – कुलेखानी हुदैँ भिमफेदी तर्फ आउने तथा काठमाण्डौ तर्फ जाँदा भिमफेदी – कुलेखानी –सिस्नेरी – दक्षिणकाली हुदैँ जान सकिने ।
ग) मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा ईन्धन तथा भारी मालबाहक सवारी साधनहरुले उक्त बेलिब्रिज प्रयोग नगरी सँगै रहेको डाईभर्सन हुदैँ जान सकिने ।
घ) विपदजन्य समय भएकोले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्ने, कुनै पनि राजमार्गमा सवारी चालकहरुले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी संचालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापन खटिएका सुरक्षाकर्मी\ट्राफिक प्रहरीको निर्देशन पुर्ण रुपमा पालना गर्नु पर्ने ।

३.जि.नुवाकोट टोखा छहरे सडक वर्षातको कारण अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधनहरूको रातिको समयमा आवतजावत रोक लगाइएको ।
मिति २०८३।०५।०१ गते देखी अर्को सुचना जारी नभएसम्म राति २२:०० बजे देखी बिहान ०५:०० बजे सम्म टोखा छहरे सडक खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सार्वजनिक तथा निजी सवारी साधनहरुको आवतजावत पुर्ण रुपमा बन्द गरिएको ।

४. जि. रसुवा पासाङ ल्हामु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको ।
मिति २०८३।०४।०८ गते  ०८:०० बजेको समयमा जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं. ५ खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडक खण्डमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरी  बाटो पूर्ण रूपमा अवरुद्ध भएकोमा मिति २०८३।०४।१० गते  आएको बिनाशकारी बाढीको कारण सडकको अधिकांस भाग नष्ट हुन गएको ।

५. जि. रसुवा र नुवाकोट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको तथा बैकल्पिक बाटो सम्बन्धमा ।
मिति २०८३।०४।१० गते आएको बिनाशकारी बाढीका कारण त्रिशुली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाका सम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग त्रिशुली नदी किनारको अधिकांस भाग कटान गरी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा स्याप्रुबेशी सम्म जान सकिने बैकल्पिक बाटोको रुपमा (सिंगल लेन कच्ची सडक) काठमाडौं देखि टोखा छहरे हुँदै बिदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे, स्याप्रुबेशी सम्म जान सकिने । 

६. जि. धादिङ पृथ्वि लोकमार्ग अवरोध सम्बन्धमा ।
(क) मिति २०८३।०५।१४ गते अं.०८:०० बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा-०७ कृष्ण भिर स्थित पृथ्विलोकमार्ग त्रिशुली नदिले कटान गर्दा सडक भाँसिन गई राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको ।
(ख) मिति २०८३।०५।१४ गते अ. १२:०० बजेको समयमा जिल्ला धादिङ गजुरी गा. पा. ०२ परेवा भिर स्थित पृथ्वीलोकमार्ग सडक खण्डमा बाढीको कारण सडकको तल्लो भाग भासिएको कारण  एक लेनको बाटो सुचारु भएको ।
(ग)  मिति २०८३।०५।१६ गते अ. १८:०० बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.१० ज्वाङखोला पृथ्वीलोकमार्ग सडक खण्डमा बाढीको कारणले सडकमा चिरा परी बाटो एक लेनको बाटो सुचारु भएको ।
(घ) मिति २०८३/०५।२० गते अं.२३:४० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.०२ चालिसे स्थित पृथ्वीलोकमार्गमा सडक माथिबाट सुक्खा पहिरो खस्न गई सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको ।

७.जि. मुगु मुगुबाट - गमगढी आउने सडक खण्ड पुर्ण रुपमा अबरुद्ध भएको ।
मिति २०८३।०५।१६ गते अं.१८;१५ बजेको समयमा जिल्ला मुगु छाँयानाथ रारा न.पा. वडा नं. ०४ ताल्चा स्थित नाग्म देखी मुगु गमगढी आउने सडक खण्डमा अविरल वर्षातका कारण माथीबाट ढुङ्गा माटो सहितको लेदो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको ।

८.जिल्ला रोल्पा परिवर्तन गा.पा.३ भालखोर सहिद राजमार्ग सडकखण्डमा पहिरो खस्न जादा बाटो पूर्ण रूपमा अवरोध भएको ।
मिति २०८३/०५/१७ गते राती देखी परिरहेको अबिरल बर्षाको कारण जिल्ला रोल्पा परिवर्तन गा.पा.३ भालखोर सहिद राजमार्ग सडक खण्डमा पहिरो खस्न जादा बाटो पुर्ण रुपमा अवरुद्ध भएको ।

९.जिल्ला ललितपुर बाग्मती गा.पा.०३ भट्टेडाडा स्थित तामाखानीमा पहिरो आई कान्तिलोकपथ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको ।
मिति २०८३।०५।२० गते अ.१७;२० बजेको समयमा बाग्मती गा.पा.०३ भट्टेडाडा स्थित टाकुर्चेमा अविरल वर्षातको कारण बाटो भासिएर कान्तिलोकपथ सडक खण्ड एक लेनको बाटो सुचारु भएको ।

१०. जि. कालिकोट कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको ।
आज मिति २०८३।०५।२० गते अन्दाजी १८:२० बजेको समयमा जिल्ला कालिकोट शुभकालिका गाँउ पालिका वडा नम्वर १ गगने खोलामा सडक माथिबाट लेदो सहितको पहिरो आई कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको । 

प्रकाशित: २१ भाद्र २०८३ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App