२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने

कास्कीको पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ आयोजना गरिने भएको छ। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने गुप्तकालिकाका रूपमा पूजिँदै आएको उक्त गुफाको संरक्षणका लागि महायज्ञ गर्न लागिएको हो।

पातीखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा स्थानीय आमा समूह, टोल सुधार समिति, क्लब तथा सामाजिक संघ–संस्थाहरूको सहकार्यमा यही वैशाख १७ गतेदेखि २४ गतेसम्म माछापुच्छ्रे–४ लाहाचोकस्थित जोगीचौर मणि परिसरमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ–२०८३ आयोजना गरिने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

महायज्ञको तयारी तीव्र रूपमा भइरहेको पातीखोला गुफा संरक्षण समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक क्याप्टेन डम्बर सिंह गुरुङले जानकारी दिए।

गुफामा धार्मिक क्षेत्रको पूर्वाधार विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको अध्यक्ष गुरुङले बताए। “ऐतिहासिक तथा धार्मिक पवित्र स्थलका रूपमा रहेको पातीखोला गुफामा पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले महायज्ञ गर्न लागेका हौं,” उनले भने।

समुद्री सतहदेखि करिब १,१०० मिटर उचाइमा रहेको उक्त गुफा पोखराको हरिचोकबाट करिब १० किलोमिटर उत्तर–पश्चिममा अवस्थित छ। आधा घण्टाको यात्रामा त्यहाँ पुग्न सकिने समितिका उपाध्यक्ष तथा महायज्ञ प्रचार–प्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले बताए।

महायज्ञ अवधिभर पोखराको हरिचोक तथा माछापुच्छ्रे गाउँपालिकाका सबै वडाबाट महायज्ञ स्थलसम्म आवतजावतका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने उनले जानकारी दिए। उनका अनुसार महायज्ञमा ५ हजार रुपैयाँ वा सोभन्दा माथि दान गर्ने सबैलाई दानको आधारमा सम्मान गरिनेछ।

गुफा करिब ५५ मिटर लामो रहेको समितिका सचिव रुद्रनाथ अधिकारीले जानकारी दिए। उनका अनुसार गुफासँग सम्बन्धित विभिन्न किम्वदन्तीहरू प्रचलित छन्।

पहिलो किम्वदन्तीअनुसार देवी भगवतीले भैरवलाई संरक्षण गरेर राखेको विश्वास गरिन्छ। देवी र भैरवबीच लामो समय द्वन्द्व चलिरहँदा देवी तपस्या गर्न पातीखोला गुफामा गएकी थिइन्। भैरव पनि उनको पछ्याउँदै त्यहाँ पुगेका थिए। त्यस क्रममा देवीका भक्त हनुमान गुफाको द्वारपालका रूपमा बसेका थिए। हनुमान र भैरवबीच युद्ध भएपछि देवी गुफाबाट निस्केर भैरवको शिर छेदन गरेको र पछि भैरवले आफ्नो गल्ती स्वीकार गर्दै क्षमा मागेपछि देवीले उनलाई संरक्षण दिएको किम्वदन्ती रहेको छ।

“यसै अनुसार स्थानीयले गुफा परिसरमा देवी र भैरवको मूर्ति स्थापना गरी हालसम्म पनि पूजा गर्दै आएका छन्,” उनले भने।

अर्को किम्वदन्तीअनुसार कौरवहरूबाट बच्न पाण्डवहरू यही पातीखोला गुफामा लुकेर बसेका थिए। गुफा कहिले पत्ता लाग्यो भन्ने यकिन नभए पनि बाइसे–चौबीसे राज्यकालमा शिकारीहरूले सिकार गर्दै जाँदा दुम्सी गुफाभित्र लुकेपछि खोज्दै जाँदा गुफा फेला परेको भन्ने जनविश्वास रहेको छ।

पातीखोला गुफा परिसरमा वर्षमा तीन पटक धार्मिक मेला लाग्ने गरेको सचिव अधिकारीले जानकारी दिए। उनका अनुसार वसन्त पञ्चमी र माघे सङ्क्रान्तिमा कुण्ड स्नानका लागि मेला लाग्ने तथा चैते दशैंमा देवीको पूजा–आराधना गरिन्छ।

माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष गणेश आचार्यले महायज्ञ पातीखोला गुफाको संरक्षणमा कोशेढुङ्गा सावित हुने बताए। “यसले समग्र गाउँपालिकाको ब्रान्डिङ र पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुर्‍याउनेछ,” उनले भने।

वडा नम्बर ४ का अध्यक्ष मधुसूदन अधिकारीले महायज्ञले स्थानीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

महायज्ञबाट करिब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको उपाध्यक्ष गुरुङले बताए। महायज्ञ सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। संकलित रकम गुफामा पूर्वाधार विकास, सौन्दर्यकरणलगायतका कार्यमा खर्च गरिने उनले स्पष्ट पारे।

प्रकाशित: ८ वैशाख २०८३ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App