८ असार २०८३ सोमबार
image/svg+xml
समाज

टिप्पर आतंकविरुद्ध रौतहटमा चक्काजाम गर्दै स्थानीय आन्दोलित

रौतहटमा टिप्पर आतंकका कारण सडकको दुर्दशा तथा लगातार भइरहेका दुर्घटनाको विरोधमा स्थानीय आन्दोलमा उत्रिन बाध्य भएका छन्।

गरुडा–समनपुर सडकखण्ड अन्तर्गत चाँदी पुल नजिक सोमबार बिहानदेखि स्थानीयले सडक अवरुद्ध गर्दै चक्काजाम गरेका हुन्। बिहान ६ बजेदेखि सुरु भएको आन्दोलनका कारण दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्य स्थानतर्फ पुग्न सकेका छैन।

स्थानीयका अनुसार क्रसर उद्योगसँग सम्बन्धित टिप्परहरूले क्षमताभन्दा बढी भार बोकेर नदीजन्य पदार्थ ढुवानी गर्दा गरुडा–समनपुर सडकखण्ड जीर्ण बनेको छ। सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा दुर्घटनाको जोखिम समेत बढेकाले टिप्पर आतंक रोक्न आन्दोलनमा उत्रिनु परेको बताएका छन्।

मलाहि गाउँका जोगेन्द्र सहनीले क्रसर व्यवसायी तथा टिप्पर सञ्चालकको लापरबाहीका कारण सडक सञ्जाल ध्वस्त बन्दै गएको र स्थानीय जनजीवन प्रभावित भएपछि आन्दोलन गर्न बाध्य भएको बताए।

हालै भएका दुई छुट्टाछुट्टै दुर्घटनाले स्थानीयमा झन आक्रोश बढाएको छ। जेठ २७ गते टिप्परको ठक्करबाट मलाहिका निवासी ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको थियो भने असार २ गते कटहरिया निवासी शेख स्वयलले पनि ज्यान गुमाएका थिए।

स्थानीयले प्रहरी प्रशासनको प्रभावकारी निगरानी अभाव तथा अवैध रूपमा सञ्चालित क्रसर उद्योगप्रति मौन समर्थन रहेको आरोप समेत लगाएका छन्। उनीहरूका अनुसार असार महिनादेखि देशभर नदीजन्य पदार्थ उत्खनन तथा संकलनमा रोक लगाइए पनि बागमती नदी किनारमा अवैध रूपमा बालुवा, गिट्टी लगायतका सामग्री भण्डारण गरेर व्यवसाय सञ्चालन अहिले पनि जारी नै रहेको छ।

सडकमा तीव्र गतिमा चलाइने टिप्पर, ट्राफिक नियमको बेवास्ता तथा नियन्त्रणको अभावका कारण सर्वसाधारणले ज्यान गुमाइरहेको चिलिमलियाका प्रमोद सहनीको गुनासो छ। पटक–पटक दुर्घटना हुँदा पनि सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको उनको आरोप छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले अवैध क्रसर उद्योगमाथि कडाइ, नदीजन्य पदार्थको अवैध कारोबार नियन्त्रण, टिप्परको गति तथा भार क्षमताको अनुगमन र दुर्घटना न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

प्रकाशित: ८ असार २०८३ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App