१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

सीपको उपयोगमार्फत स्वरोजगार बन्दै बकैयाका स्थानीयवासी

मकवानपुरको बकैया गाउँपालिका-६ ज्यामिरेकी सुस्मिता वाइबा घरमा नै तान लगाएर गलैँचा बुन्दै आएकी छिन्।

यसअघि काठमाडौंमा गलैँचा बुन्ने सीप सिकेकी वाइबा अहिले भने घरमा नै गलैँचा बुनेर बजारमा पठाउने गर्छिन्। घरमा फुर्सद हुनासाथ गलैँचा बुन्दै आएकी उनले गलैँचा बुन्नुका साथै घरमा मासु पसलसमेत सञ्चालन गर्दै आएकी छिन्।

गलैँचा बनाउन सकिएमा बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उल्लेख गर्दै उनले आफूले निर्माण गरेको गलैँचा काठमाडौंमा राम्रो माग हुने गरेको बताइन्।

घरका अन्य कामसमेत गर्दै करिब २०-२२ दिनमा एउटा गलैँचा तयार गर्ने गरेको बताउँदै उनले यसले आफूलाई स्वरोजगार बनाएको बताइन्। गलैँचाका लागि आवश्यकपर्ने धागो काठमाडौंबाट नै मगाउने गरेको उनको भनाइ छ।

उनीजस्तै अर्का स्थानीय जितबहादुर वाइबाले पनि गाउँमा नै गलैँचा बुन्ने गरेका छन्। उनका अनुसार एउटा गलैँचाको समान्यतः १०-११ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

'तानमा बुनेर तयार गरिने गलैँचाको बजारमा माग राम्रो छ', उनले भने, 'गलैँचा तयार गर्नसकेमा बिक्रीका लागि बजारमा कुनै समस्या छैन।' गाउँका स्थानीयले स्वरोजगार बन्ने लक्ष्यका साथ कसैले बाख्रापालन त कसैले कुखुरापालन आदि गरिरहेको उनले बताए। स्थानीयवासीका अनुसार गाउँमा उत्पादित जुनसुकै बस्तुको बजारमा माग बढ्दो रहेको छ।

तामाङ जातिको बाहुल्यता रहेको पालिकामा ठाउँठाउँमा स्थानीयवासीहरू गलैँचा बुन्ने पेसालाई आफ्नो आयआर्जनको विकल्पका रुपमा अघि बढाउने गरेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताए।

'यहाँका धेरै गाउँमा घरको नियमित कामसँगै समय छुट्याएर गलैँचा बुन्नेक्रम पनि चलिरहेको छ', उनले भने, 'गलैँचा बुन्ने व्यवसाय स्थानीयका लागि अतिरिक्त आय आर्जन गर्ने तथा स्वरोजगार बन्ने उपयुक्त विकल्प बनेको छ।'  

गाउँपालिकाभित्र स्थानीयले व्यावसायिक कृषि, पशुपालन आदि गरिहेको उल्लेख गर्दै उनले पछिल्ला समयमा अधिकांश स्थानमा विभिन्न ज्ञान सीपको उपयोग गर्दै स्वरोजगार बन्नेक्रम बढ्दो रहेको बताए। 

प्रकाशित: १६ आश्विन २०८३ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App