युईएफए नेसन्स लिगअन्तर्गत गएराति भएका खेलमा पोर्चुगल, जर्मनी र वेल्सले जित निकालेका छन्। पोर्चुगलले डेनमार्कलाई ४-२ गोलले हराउँदा जर्मनीले सर्बियालाई २-० र वेल्सले नर्वेलाई २-१ गोलले पराजित गरेका हुन्।
डेनमार्कको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले चार गोल गर्दै जित निकालेको हो। जर्मनीले सर्बियालाई दुई गोलले पराजित गर्दा वेल्सले नर्वेमाथि २-१ को जित दर्ता गर्यो।
अन्य खेलमा ग्रीस र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेले। आयरल्यान्ड र अस्ट्रियाबीचको खेल पनि २-२ गोलको बराबरीमा सकियो।
यस्तै, अजरबैजान र लिच्टेन्स्टाइनले गोलरहित बराबरी खेल्दा इजरायल र कोसोभोले पनि गोल गर्न सकेनन्। माल्टा र जिब्राल्टरबीचको खेल भने १-१ गोलको बराबरीमा टुंगियो।
आजका खेल
नेसन्स लिगअन्तर्गत आज शुक्रबार पनि विभिन्न खेल हुँदैछन्। आजको मुख्य आकर्षण बेल्जियम र टर्कि तथा फ्रान्स र इटालीबीचको प्रतिस्पर्धा रहनेछ।
आज हुने खेलहरूमा कजाकिस्तान र मोल्दोभा, साइप्रस र आर्मेनिया, लाट्भिया र मोन्टेनेग्रो, बेल्जियम र टर्कि, फ्रान्स र इटाली, हंगेरी र जर्जिया, युक्रेन र उत्तरी आयरल्यान्ड, बोस्निया हर्जगोभिना र स्विडेन, पोल्यान्ड र रोमानिया तथा फारो आइल्यान्ड्स र स्लोभाकिया रहेका छन्। यी खेलमध्ये अधिकांश नेपाली समयअनुसार १२ः३० बजे सुरु हुनेछन्। कजाकिस्तान र मोल्दोभाबीचको खेल भने आज राति ७ः४५ बजे तथा साइप्रस र आर्मेनिया एवं लाट्भिया र मोन्टेनेग्रोबीचका खेल राति ९ः४५ बजे सुरु हुनेछन्।
प्रकाशित: १६ आश्विन २०८३ ०८:३२ शुक्रबार

