१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लीमा सुरक्षा निकायसँग स्थानीयको अन्तरक्रिया

उदयपुरको विकट पहाडी गाउँपालिका ताप्लीमा जनचासोका विषयमा सर्वपक्षीय अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजना र ताप्ली गाउँपालिकाको समन्वयमा मुकाम रुपाटारमा सर्वपक्षीय छलफल भएको हो।  

मुख्य चार विषयहरू स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाहसम्बन्धी सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइ तथा लागूऔषध नियन्त्रण र नागरिकता प्रमाणपत्रको अनलाइन सिफारिस विषयमा केन्द्रित रहेर सुरक्षा निकाय र स्थानीय सरकारबिचको सम्बन्ध समन्वयबारे छलफल गरियो।  

सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेका अनुसार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगै सदरमुकामका अन्य अड्डा र कार्यालयहरूबाट लिने दिने सेवाप्रवाहमा नागरिकलाई कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले पालिकास्तरमा सहजीकरण कार्यक्रम चलाइएको हो। स्थानीय सरकार र संघीय तथा प्रदेश सरकारबिच आपसी समन्वय गरेर नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन प्रशासन कार्यालयले स्थानीय तह केन्द्रित कार्यक्रम आयोजना गर्न थालेको सहायक सिडिओ पाण्डेले बताए।  

स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, ५ वटै वडाका सेवाग्राही, नागरिक अगुवाहरू, विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, स्वास्थ्य संस्था, क्लब र सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए। सहभागीहरूले ताप्लीको स्थानीय सरकारबाट भइरहेको सेवाप्रवाह सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै अझ राम्रो र व्यवस्थित गर्दै लानुपर्ने माग गरेका थिए।  

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले गाउँपालिकाबाट सिफारिस भएर गएका कागजातहरूप्रति विश्वास गरेर सदरमुकामका कार्यालयहरूले काम गरिदिन आग्रह गरे। कतिपय विषयमा आपसी समन्वय र सहयोग अभावमा गाउँका नागरिकले दुख पाउन नहुनेमा अध्यक्ष विश्वकर्माको जोड थियो। देशमा ऐन, कानुन र विधि प्रक्रियाहरू छिटो छिटो परिवर्तन भइरहेको अवस्थामा स्थानीय सरकार र संघ तथा प्रदेश सरकारबिच समन्वय अत्यन्त जरुरी रहेको भन्दै नागरिकले बेरोकटोक सेवा पाउनुपर्ने अधिकारप्रति तीनवटै सरकार सचेत हुनुपर्नेमा अध्यक्ष विश्वकर्माको जोड थियो।  

स्थानीय तहमा सदरमुकामको सम्बन्ध बढाउने, नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न एकअर्काको अनुभव आदान प्रदान गर्न तथा नजानेका कुराहरू सिक्ने सिकाउने अवसरका लागि पनि यस्तो कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।  

कार्यक्रमका लागि सदरमुकामबाट सिडिओ जोशी, नेपाली सेनाका गणपति प्रमुख सेनानी मनोज कार्की, प्रहरी प्रमुख एसपी राजन चापागाई, सशस्त्र प्रहरी प्रमुख एसपी सुशीलकुमार शाही र राष्ट्रिय अनुसन्धान उपनिर्देशक तुलसी कट्टेलसहित कर्मचारी टोली सहभागी भएको थियो।

प्रकाशित: १९ मंसिर २०८२ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App