स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीले स्याफ्रुबेँसीस्थित पक्की पुलसहित सडक सञ्जाल पूर्ण रूपमा बगाएपछि आवतजावतमा कठिनाइ भएपछि स्थानीयको सक्रियतामा भोटेकोशी खोलामा पुल निर्माण सुरु गरिएको हो।
सरकारले सो क्षेत्रमा बेलीब्रिज निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी गरिरहेको भए पनि सो कार्य पूरा हुन समय लाग्ने देखिएपछि स्थानीय समुदाय आफैँ सक्रिय भएका हुन्।
बाढीका कारण सडक सम्पर्कविच्छेद हुँदा किसानलाई कृषि उत्पादन बजारसम्म पुर्याउन तथा दैनिक आवतजावतमा कठिनाइ हुँदै आएको छ।
श्रमदानमा जुटेकामध्ये सामाजिक अभियन्ता सोनामछिरिङ तामाङले लामो समयसम्म बाटो अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य सामग्रीको चरम सङ्कट र स्वास्थ्योपचारमा समेत समस्या पर्न थालेपछि स्थानीयस्तरमै स्रोत र जनशक्ति जुटाई काम थालिएको बताए।
'बाढीले स्याफ्रुबेँसी क्षेत्र तहसनहस बनाएपछि हाम्रो दैनिकी कष्टकर बनेको छ', तामाङले भने, 'आपत्कालीन विकास निर्माणकार्यमा गाउँवासीको भौतिक उपस्थिति र श्रमदानको उच्च महत्त्व रहेकाले हामीले सम्पूर्ण गाउँवासीलाई फुर्सद मिलाई श्रमदानमा सहभागी हुन हार्दिक अनुरोधसमेत गरेका छौँ।'
सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा केही दिनभित्रै स्याफ्रुबेँसीमा पुल निर्माण हुने विश्वास लिइएको छ।
प्रकाशित: २७ आश्विन २०८३ १०:५५ मंगलबार





