२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

विपद् व्यवस्थापनमा स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ : डा उप्रेती

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले विपद् व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि नै क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।  

शुक्रबार ललितपुरमा आयोजित ‘राइजिङ फोरम द रोयर’ कार्यक्रममा बोल्दै उनले साना विपद् स्थानीय तहले नै व्यवस्थापन गर्न सक्ने गरी अधिकार र स्रोतको विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिए।  

उनले वडा तथा गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्रिय र सक्षम हुन आवश्यक रहेको बताए। स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो। 

विपद् व्यवस्थापन ऐनले संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए। सबै तहका निकायले ऐनमा भएका व्यवस्थाबारे पर्याप्त जानकारी राखेर आ(आफ्नो जिम्मेवारीअनुसार सक्रिय हुनुपर्ने उनले उल्लेख गरे। 

रसुवामा गएको विपद्का बेला उद्धार तथा राहत वितरणमा देखिएका चुनौती स्मरण गर्दै उप्रेतीले पहिलो साताको मुख्य प्राथमिकता उद्धार र जीवनरक्षा रहेको बताए। 

विपद्का क्रममा करिब १३ हजार ५०० जनाको उद्धार गरिएको थियो। राहत सामग्री ढुवानी, शव संकलन तथा व्यवस्थापनलगायतका चुनौतीपूर्ण काममा सुरक्षाकर्मी तथा सम्बन्धित निकाय रातदिन खटिएको बताए। 

रसुवामा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले नुवाकोट हुँदै हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए। 

राहत वितरणका क्रममा अनावश्यक अवरोध नहोस् भन्नेमा सरकार सचेत रहेको पनि उनले बताए। राहतको नाममा सामान्य गतिविधिलाई समेत राहतका रूपमा प्रस्तुत गर्ने र ‘राहत पर्यटन’लाई प्रोत्साहन गर्ने प्रवृत्ति रोक्दै नेपालमा लामो समयदेखि कार्यरत तथा समाज कल्याण परिषद्मा दर्ता भएका अन्तर्राष्ट्रिय संस्थालाई सहजीकरण गरिएको उनको भनाइ थियो। 

प्रकाशित: २० कार्तिक २०८३ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App