२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको सूची सार्वजनिक : लुकाएको सम्पत्ति खोज्दै समिति

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूले लुकाएको सम्पत्ति र रकमबारे सूचना माग गरेको छ।

समितिले सञ्चालकहरूको विस्तृत विवरण सार्वजनिक गरी उनीहरूले आफ्ना परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा बचतकर्ताको रकम वा सम्पत्ति हिनामिना गरेर लुकाएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको हो।

समितिद्वारा जारी सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

यसका साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सम्बन्धित संस्थाको दायित्व फरफारक गर्न, ऋण असुली गर्न तथा सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी व्यवस्थापन कार्यमा सघाउन निर्देशन दिएको छ। सञ्चालकहरूलाई नियमित रूपमा समितिको सम्पर्कमा रही बचत फिर्ता र दायित्व व्यवस्थापनमा सहयोग गर्न समेत आग्रह गरिएको छ।

समितिले सञ्चालकहरूलाई यो प्रक्रियामा सहयोग नगरे कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ। साथै, सार्वजनिक गरिएको सञ्चालकहरूको विवरणमा कुनै फरक पर्न गएको वा अध्यावधिक नभएको खण्डमा तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न समेत सूचित गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०८३ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App