जिल्ला हुलाक कार्यालय ताप्लेजुङले अघिल्लो आर्थिक वर्षको अन्तिम तीन महिनामा ८३ वटा राहदानी घर–घरमै पुर्याउने सेवा प्रदान गरेको छ।
जिल्ला हुलाक कार्यालयका खरिदार विकास लिम्बूका अनुसार ४० वटा राहदानी जिल्लाभित्रका सेवाग्राहीलाई तथा ४३ वटा राहदानी ताप्लेजुङ घर भई अन्यत्र बसोबास गरिरहेका सेवाग्राहीलाई हुलाक सेवामार्फत घरमै पुर्याइएको हो।
जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी राजकुमार आलेका अनुसार हाल हुलाक कार्यालयमार्फत स्वास्थ्य कार्यालयका औषधि ढुवानी गरी सम्बन्धित कार्यालयसम्म पुर्याउने सेवा पनि सञ्चालनमा ल्याइएको छ।
अघिल्लो आर्थिक वर्षमा हुलाक कार्यालयले विभिन्न सेवा तथा बिक्रीबाट ४ लाख २६ हजार ९ सय ५८ रुपैयाँ राजस्व संकलन गरेको छ। सूचना अधिकारी आलेका अनुसार टिकट बिक्रीबाट ३ लाख २४ हजार २ सय ४८ रुपैयाँ, रजिष्ट्री पत्र अनलाइन दर्ता सेवाबाट ९६ हजार ९ सय ३६ रुपैयाँ तथा भन्सार शुल्कबापत ५ हजार ७ सय ७४ रुपैयाँ राजस्व संकलन भएको हो।
ताप्लेजुङका नौ स्थानीय तहमध्ये सदरमुकाम रहेको फुङलिङ नगरपालिका बाहेक अन्य आठवटै गाउँपालिकामा पालिकास्तरीय हुलाक कार्यालय सञ्चालनमा रहेका छन्। ती कार्यालयबाट PITS लगायतका विभिन्न हुलाक सेवा नियमित रूपमा प्रदान हुँदै आएका छन्।
प्रकाशित: ४ श्रावण २०८३ १४:१८ सोमबार





