लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरुद्ध छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौं–हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन रहेतापनि जवाङखोलास्थित सडक भने पूर्ण रूपमा बन्द रहेको छ।
प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाउँदै प्रहरीले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित: ४ श्रावण २०८३ १२:२३ सोमबार





