केही दिनदेखिको अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा खसेको पहिरो र बाढीले १८ घरमा क्षति पुर्याएको छ। बाढी-पहिरोले कतिपय घर बगाएर परिवार नै विस्थापित भएका छन् भने धेरैजसो घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिका-१० डिहीगाउँमा पहिरोले स्थानीय तिलबहादुर विकको इँटाले बनेको एकतले कच्ची घर पूर्ण रूपमा बगाएको छ।
घरभन्दा ३० मिटर माथिबाट खसेको पहिरोले अन्नपात, लत्ताकपडा, नगद तथा गरगहना बगाउँदा विकको परिवार विस्थापित बनेको छ।
सोही पहिरोले डिहीगाउँ-बैरेनी भित्री सडकखण्ड बिगारेको छ भने स्थानीय सुकबहादुर दरैको पक्की र विष्णुबहादुर दरैको कच्ची घर उच्च जोखिममा परेका छन्।
पहिरोले व्यास नगरपालिका-५ चापाघाटस्थित तनहुँ आयल डिस्ट्रीब्युटर (पेट्रोलपम्प) मा समेत ठूलो क्षति पुर्याएको छ। पम्पको पूर्वतर्फबाट करिब ५० मिटर तल खसेको पहिरोले पेट्रोलपम्पको एउटा डिजेल ट्याङ्की बगाएको छ भने दुईवटा एकतले कच्ची भवन जोखिममा परेका छन्।
उता, घिरिङ गाउँपालिका-१ पुट्टारस्थित गुहिया खोलाको बाढीले धार परिवर्तन गर्दा बस्तीमा पानी पसेको छ। आज बिहान आएको बाढीले भुमलाल दरैको घरसहित अन्य चारवटा ढुङ्गा-माटोले बनेका कच्ची घरको तल्लो तला डुबाएको छ। प्रहरी चौकी पुट्टारको टोलीले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेको छ।
म्याग्दे गाउँपालिका-२ जामुनेमा घरमाथिको बारीबाट खसेको लेदोसहितको पहिरोले स्थानीय खिमादेवी विकको दुईतले पक्की घरमा क्षति पुर्याएको छ। प्रहरीले खिमादेवीसहित परिवारलाई छिमेकीको घरमा सुरक्षित स्थानान्तरण गरेको छ।
यसैगरी, ऋषिङ गाउँपालिका-१ धोक्लोमा आज बिहान करिब ६:३० बजे सडकभन्दा १०० मिटर माथिबाट पहिरो खस्दा नाला थुनिएर लेदो र पानी घरभित्र पसेको छ।
जसबाट जितबहादुर राना र डम्बरबहादुर रानाको कच्ची घरका लत्ताकपडा तथा सामान नष्ट भएका छन्। घटनास्थलमा अस्थायी प्रहरी पोस्ट झापुटारबाट खटिएको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ।
पहिरोले भानु नगरपालिका-२ शिवालय टोलमा विक्रम परियारको घरको एकतर्फी गाह्रो भत्काएको छ भने राजन सुनारको घर जोखिममा पारेको छ।
त्यस्तै, भानु-१३ ठूलढुङ्गामा आँगनबाट खसेको पहिरोले हस्तमाया गुरुङको जस्तापाताले छाएको भान्साघर पूर्ण रूपमा पुरिँदा अन्नपात र भाँडावर्तन नष्ट भएका छन्।
यता, बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गाका नीरज श्रेष्ठको एकतले कच्ची घरको पछाडिको भाग पहिरोले भत्काएको छ। व्यास नगरपालिका-१४ कैजलेमा पहिरोले दलबहादुर परियार र सोविता परियारको घरमा क्षति पुर्याएपछि प्रहरीले सामान सुरक्षित स्थानमा सारेको छ।
पहिरोबाट भौतिक संरचना र सम्पत्तिमा व्यापक क्षति पुगे पनि जिल्लाभर मानवीय र चौपायाको कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए।
प्रकाशित: ११ आश्विन २०८३ १७:५८ आइतबार





