भूमि,नापी र इलाका प्रशासन सेवा विस्तार भएसँगै कालीकोटको रास्कोट नगरपालिकाको मुहार फेरिँदै गएको छ।
विगतमा सामान्य सरकारी कामकाजका लागि पनि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाहरूले अहिले आफ्नै घरदैलोमा यी सेवाहरू पाउन थालेपछि रास्कोट क्षेत्रमा आर्थिक र प्रशासनिक चहलपहल निकै बढेको हो।
पहिलो सेवाग्राहीको रूपमा रास्कोट नगरपालिका-६ का ७६ वर्षिया मनपुरा फर्सालले सोही वडाका बरे सार्कीलाई जग्गाको राजीनामा बुझाइन्। उनले सोमबार पहिलोपटक नगरपालिकाबाट जग्गा राजीनामाको काम भएपछि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अन्त्य भएको बताइन्।
उनले भनिन्, ‘सदरमुकाम मान्म पुग्न काम थोरै र खर्च धेरै हुन्थ्यो मान्म पुग्न लाग्ने खर्च र समय बचत भयो।’ गाउँबाटै जग्गाको सेवा लिन पाउँदा धेरै खुसी भएको बताइन्। उनी जस्तै नागरिकता,राष्ट्रिय परिचयपत्र लिने सेवाग्राही समेत खुसी देखिन्छन्।
नगरपालिकामा मालपोत,नापी सेवाको उद्घाटन गरेसँगै स्थानीय नागरिकले जग्गा प्रशासन सम्बन्धीका सेवा पनि नगरपालिका बाट लिन सुरु गरेको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले बताए।
उनले नगरपालिका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित भूमि व्यवस्थापन, नापी, करदाता सेवा र इलाका प्रशासन सेवा रास्कोटबाट विस्तार गरेको बताए। उनले नगरपालिकामै सबै सेवा सुचारु हुँदा नागरिकमा सहजताका साथै राजस्व संकलन, नागरिकता प्रदान, जग्गा पास, मरुवाको सरुवा, लेखापढी सेवालगायतले नागरिकले अनुभूति गर्ने गरी सेवा बिस्तार भएको बताए।
उनले भने ‘अब नगरवासीले भूमिसम्बन्धी धेरैजसो सेवा लिन जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ,’ उनले थपे, ‘संघीयताको मर्मअनुसार स्थानीय तहमै यो सेवा सुरु हुनु सुखद पक्ष हो।’
दुर्गम बस्तीमा सरकारी सेवा पुर्याउनु चुनौतीपूर्ण रहँदै आएको अवस्थामा रास्कोटमै विभिन्न सेवा विस्तार हुनु स्थानीय सेवा प्रवाहका दृष्टिले महत्त्वपूर्ण कदम मानिएको छ।
भूमि व्यवस्थापनबाट हालसम्म तिन वटा राजीनामा, एक नामसारी, एक अंश भरपाईको काम भएको भूमि व्यवस्थापन शाखा प्रमुख धन बहादुर फडेराले बताए। उनले भूमि व्यवस्थापनका लागि आफू सहित तिन जना कर्मचारी र नापीको लागि दुई जना कर्मचारीले नियमित सेवा सुरु गरेको बताए। उनले नगरपालिकाले प्रदान गर्ने
सबै सेवाले नागरिकको समय, श्रम र खर्च बचत हुनुका साथै सरकारी सेवा प्राप्त गर्न सहजता थपिएको बताए।
भौगोलिक विकटता र यातायातको कठिनाइका कारण भूमि, नापी, करदाता सेवा र इलाका प्रशासनसम्बन्धी कामका लागि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता झेल्दै आएका रास्कोट नगरपालिका नागरिकलाई सबै सेवा सञ्चालनले राहत पुगेको छ। नगरपालिकामा यसअघि करदाता सेवा र इलाका प्रशासन कार्यालयले काम समेत गरेका छन्।
इलाका प्रशासनले सेवा सुरु गरेको सात महिना भएको छ। जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, र पलाँता गाउँपालिकाले इलाका प्रशासनको सेवा लिनेछन्। हालसम्म नयाँ नागरिकता एक हजार ७९३,पुराना नागरिकताको प्रतिलिपि एक हजार ४०२ तथा राष्ट्रिय परिचयपत्र नयाँ चार हजार २०० र राष्ट्रिय परिचयपत्र कार्ड २०५ जनाले लगेको इलाका प्रशासन रास्कोटका प्रमुख नमराज बमले जानकारी दिए।
उनले चार पालिकाका धेरै नागरिकले सहज रूपमा सेवा लिने गरेको बताए। उनले पहिलाको जस्तो जिल्लामा धाउनुपर्ने झन्झटको अन्त्य भएको बताए।
प्रकाशित: २० कार्तिक २०८३ ०९:१७ शुक्रबार





