२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

धमाधम लालपूर्जा वितरण गर्दै भूमि आयोग, हजार बढीले पाए

भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेको छ।  

जिल्लाको कोहलपुर नगरपालिका–१ मा विभिन्न चरणमा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए। उनका अनुसार तीमध्ये आठ सय ९६ जना अव्यवस्थित बसोबासी र एक सय १७ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासी रहेका छन्।  

अव्यवस्थित बसोबासीले बढीमा रु पाँच लाखसम्म राजस्व तिरेर र सबैभन्दा कम रु १२ हजारसम्म राजस्व तिरेर जग्गाको जग्गाधनी प्रमाणपूर्जा लिएको उनको भनाइ छ। ‘अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेका लागि लालपूर्जा वितरण जारी छ,’ अध्यक्ष खनालले भने।  

उनका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४, बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएर पूर्जा वितरण अघि बढाइएको छ।  

जिल्लाको राप्तीसोनारी ३, ५, ७ र ९, बैजनाथ ७ र ६, खजुरा ४ र ५, नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा सकेर पूर्जा वितरण सुरु गर्न थालिएको अध्यक्ष खनालले बताए। राप्तीसोनारी–१, बैजनाथ–१, जानकी–४, नेपालगञ्ज–१८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ।  

नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण सुरु हुन लागेको आयोगले जनाएको छ। त्यहाँ थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपूर्जा वितरणका लागि तयारी छ। 

आयोगका अनुसार बाँकेमा हालसम्म ५३ हजार सात सय पाँच जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने छ। जसमध्ये आठ हजार तीन सय निकुञ्ज क्षेत्रभित्रका छन्। आयोगले जारी गरेको दोस्रो र तेस्रो सूचनाबाट करिब १५ हजार संख्या बढ्न सक्ने अनुमान गरिएको आयोगका अध्यक्ष खनालले बताए। रासस

प्रकाशित: २३ श्रावण २०८२ २०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App