२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

लमजुङ जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते (नामसहित)

तस्बिर : राजु गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ ङादीस्थित बेसिशहर–उस्ता सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य १२ जना घाइते भएका छन्।

शनिबार दिउँसो पौने ५ बजे बेसिशहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप सडकबाट करिब ५० देखि ६० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी मर्स्याङ्दी गाउँपालिका–७ उस्ताकी ४० वर्षीया गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र सोही ठाउँकी ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको छ। उद्धारपछि उनीहरूलाई प्रदेश अस्पताल लमजुङ पुर्‍याइएलगत्तै साँझ ५:२० बजे डाक्टरले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते भएका १२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन रिफर गरिएको छ। टाउकोमा चोट लागेकी ३३ वर्षीया रिता गुरुङ र टाउको तथा छातीमा चोट लागेका ७ वर्षीय बालक सफल गुरुङलाई साँझ सवा ६ बजे भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ।

अन्य घाइतेहरूको प्रदेश अस्पताल लमजुङमै उपचार भइरहेको छ। मध्यम अवस्थाका घाइतेहरूमा जिप चालक २९ वर्षीय करण अधिकारी, ४० वर्षीया बिमला देवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ  र ३८ वर्षीय सोमलाल तामाङ रहेका छन्। यसैगरी, ११ वर्षीय रितेश गुरुङ र १० वर्षीया प्रिसिका गुरुङको पनि अवस्था मध्यम छ।

दुर्घटनामा १२ वर्षीय विवान घले, ९ वर्षीय इन्द्र गुरुङ र ४८ वर्षीय रुद्रमान घले सामान्य घाइते भएका छन्। घाइते सबै मर्स्याङ्दी–७ उस्ताकै बासिन्दा हुन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ चैत्र २०८२ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App