ललितपुर जिल्ला प्रशासन कार्यालयले बडादसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वका अवसरमा जिल्लावासी सबैलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै उपभोक्ता हित विपरीतका गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरेको छ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्नेलगायत उपभोक्ता हित विपरीतका कार्य नगर्न सचेत गराएको हो।
सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएकोभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र ट्राफिक नियम पालना गर्न जिल्ला प्रशासनले सबैलाई अनुरोध गरेको छ। चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न/नगराउन कार्यालयले सूचनामार्फत सबैलाई सचेत गराएको हो।
साथै, गैरकानुनी रूपमा चिट्ठा, जुवातास, अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई ध्यानाकर्षण गराएको छ। जिल्लावासीलाई सार्वजनिक स्थलमा होहल्ला नगरी सभ्य र मर्यादित तरिकाले चाडपर्व मनाउन आग्रह गरिएको छ। गैरकानुनी गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ।
प्रकाशित: ११ आश्विन २०८२ २०:४४ शनिबार





