राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे सरकारले समयमै आधिकारिक जानकारी नदिँदा विभिन्न खाले भ्रम तथा अफवाह फैलिएको बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रमणको उद्देश्य पारदर्शी नहुँदा जनता र सञ्चारमाध्यममा अनेकौं अड्कलबाजी भएको टिप्पणी गरे।
भ्रमणको औचित्यबारे सूचना नहुँदा मानिसहरूले आ-आफ्नै ढंगले व्याख्या गर्न थालेको उल्लेख गर्दै डा. केसीले भने, ‘प्रधानमन्त्री मुस्ताङ किन जानुभयो भन्ने कसैलाई थाहा छैन। आधिकारिक जानकारी नभएपछि कोही युरेनियम खोज्न गएको भन्छन्, कोही अमेरिकी कूटनीतिज्ञ अघि-अघि र बालेन पछि-पछि लागेको भन्छन्, त कोही मुस्ताङको ब्रान्डिङ गर्न आफैँ गाडी हाँकेर गएको तर्क गर्छन्।’
यसैगरी, बाराको सिमरामा एक बालिकाको बलात्कारपछि हत्या भएको संवेदनशील घटनालाई उपेक्षा गरेर प्रधानमन्त्री छोरीसहित घुमघाममा निस्किएको भन्दै सामाजिक रूपमा आलोचना भएको सन्दर्भ पनि उनले स्मरण गरे।
आफूले सो घटनामा गृहमन्त्री र प्रधानमन्त्रीको उपस्थितिको विषय उठाउँदा कतिपयले प्रधानमन्त्रीसँग व्यक्तिगत रिसइबी रहेको भनी गलत अर्थ लगाएको गुनासो उनले गरे।
डा. केसीले नेतृत्वले भ्रमणको उद्देश्यबारे पहिले नै प्रस्ट नपारेकै कारण यस्ता अनावश्यक विवाद र विभाजन उत्पन्न हुने गरेको बताए।
चाहे मुस्ताङ भ्रमण होस् वा छिमेकी मुलुक भारतको भ्रमण, राज्यका जिम्मेवार पदाधिकारी किन र के प्रयोजनका लागि जाँदैछन् भन्ने कुरा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
भ्रमणका विषयमा सरकारले समयमै सही र आधिकारिक सूचना प्रवाह नगरेसम्म यस्ता विवाद, प्रतिपक्षीको आरोप र सञ्चारमाध्यमका टीका-टिप्पणी विगतदेखि नै दोहोरिँदै आएको र आगामी दिनमा पनि रहिरहने उनले औंल्याए।
प्रकाशित: ९ भाद्र २०८३ १९:४५ मंगलबार





