गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको कोटेश्वर प्रहरी प्रभागको पुनर्निर्माण सम्पन्न भई प्रहरी कर्मचारीहरूलाई पुनःस्थापित गरिएको छ।
बिहीबार आयोजित एक कार्यक्रममा स्थानीय बासिन्दाले फूलमालाले स्वागत गर्दै प्रहरीलाई उनीहरूको पुरानै कार्यथलोमा फिर्ता बोलाएका हुन्।
कार्यक्रमको सुरुवातमा पूजाआजा गरिएको थियो। स्थानीय तथा अन्य उपस्थित व्यक्तित्वहरूले प्रभागमा फर्केका प्रहरीहरूलाई सम्मान प्रकट गरेका थिए।
सो अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका दिवंगत प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
गत भदौमा भएको आन्दोलनको क्रममा देशभर सयौँ प्रहरी कार्यालयहरूमा क्षति पुगेको थियो। हाल स्थानीय समुदाय, विभिन्न दाता र सरकारी पहलमा ती क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र पुनर्स्थापनाको काम धमाधम भइरहेको छ।
कोटेश्वर प्रभागको पुनर्स्थापना यही अभियानको एक हिस्सा हो।
प्रकाशित: ९ आश्विन २०८२ १७:०० बिहीबार

