कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पठाएको छ।
मंगलबार बिहान हेलिकप्टर मार्फत राहत सामग्री पठाएको हो। कोशीका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले राहतलाई तीव्र रूपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताए।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो। स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाइएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरू चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरू इलामका लागि पठाएको छ।
प्रदेश सरकारले असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरूको उद्धारको कार्य पछि राहत सामग्री पठाएको मन्त्रालयका सचिव आचार्यले बताए।इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टर मार्फत सामग्री पुगेको छ। र थप सामग्री पुर्याउने सरकारको तयारी छ।
बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरू पठाइएको प्रदेश सरकारले जानकारी दिएको छ।
बाढी पहिरोका कारण इलामको सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो।
प्रकाशित: २१ आश्विन २०८२ ११:५१ मंगलबार





