कोशी प्रदेश सरकारका मन्त्रीहरू र उनीहरूका सचिवालयमा कार्यरत कर्मचारीहरूले आफ्नो सात दिनको पारिश्रमिक भोटेकोशी बाढीपीडितलाई उपलब्ध गराउने भएका छन्।
मंगलबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले विपद्मा परेका नागरिकको राहतका लागि यस्तो निर्णय गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले बाढी प्रभावितहरूको मानवीय सहायताका लागि मन्त्रिपरिषद् सदस्य र सचिवालयका कर्मचारीहरूको एक साताको तलब सहयोग गर्ने निर्णय गरिएको बताए।
यसैगरी, मन्त्रिपरिषद् बैठकले दुई प्रदेश सचिवहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। जसअनुसार प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र प्रदेश सचिव आशमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाउने निर्णय गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए।
बैठकले कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न मातहतका सबै मन्त्रालयहरूलाई लेखी पठाउने निर्णयसमेत गरेको छ।
साथै, प्रदेशको व्यापार प्रवर्द्धनका लागि गठित कोशी प्रदेश निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
प्रकाशित: ३० भाद्र २०८३ १७:३८ मंगलबार





