नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिंथेपले कोशी प्रदेशका कर्मचारीले ठेकदारहरूसँग लिने कमिसनको रेट बढाएको बताएका छन् ।
बिहीबार आर्थिक मामिला मन्त्रालयले अर्थ समिति र सार्वजनिक लेखा समितिसँग गरेको आर्थिक वर्ष ०८१/०८२को बजेट कार्यान्वयन र आर्थिक वर्ष २०८२/०८३ को विशेषता तथा कार्यान्वयन तयारी विषयक छलफलमा लिंथेपले प्रदेशका कर्मचारीले कमिसनको रेट बढाएको बताएका हुन् ।
लिंथेपले कोशीका कर्मचारीले कमिसनको रेट १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको ठेकदारहरूले आफूसँग गुनासो गरेको बताए । ‘प्रदेशका कर्मचारीले विगतको भन्दा दोब्बर नै कमिसनको रेट बढाएको गुनासो ठेकदारहरूले गरिरहेका छन्’ उनले भने ‘विगतमा १० प्रतिशत लिने गरेकोमा हाल बढाएर २० प्रतिशत पु¥याइसकेछन् ।’
लिंथेपले कमिसन नदिई काम नहुने अवस्था रहेको समेत बताए । उपभोक्ता समितिबाट हुने काममा समेत कर्मचारीहरूले असुली गरिरहेको उनले बताए । जुन उपभोक्ता समितिले पैसा दियो त्यहि उपभोक्ता समितिलाई धेरै बजेट दिने गरिएको लिंथेपको भनाई छ । उनले विकासका काममा देखिएका बेथितिहरू नहटाई आयोजनाहरू प्रभावकारी नहुने स्पष्ट पारे ।
प्रकाशित: २९ श्रावण २०८२ १८:२३ बिहीबार




