१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

कोरिया रोजगारीको आकर्षण: उत्पादन क्षेत्रको परीक्षामा ६७ हजार सहभागी

दक्षिण कोरियामा रोजगारीका लागि देखिएको तीव्र आकर्षणबीच रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको भाषा परीक्षा सोमबारदेखि सुरु भएको छ।

पहिलो चरणअन्तर्गतको यो परीक्षामा मात्रै ६७ हजार युवा सहभागी भएका छन्।

यस वर्ष ईपीएसमार्फत कोरिया जानका लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी कुल १ लाख ३ हजारभन्दा बढीले आवेदन दिएका थिए।

त्यसमध्ये पहिलो चरणमा उत्पादनतर्फका आवेदकलाई प्राथमिकतामा राखेर परीक्षा सञ्चालन गरिएको हो। यद्यपि, यो परीक्षा उत्तीर्ण गर्नेहरूले कोरिया प्रवेशका लागि सन् २०२७ सम्म कुर्नुपर्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले स्पष्ट पारेको छ।

ईपीएस शाखाका अनुसार, सोमबारदेखि सुरु भएको उत्पादन क्षेत्रको परीक्षा आउँदो माघ २७ गतेसम्म चल्नेछ। हाल दैनिक चार सिफ्टमा गरी ८०० जनाले परीक्षा दिइरहेका छन्। प्रत्येक सिफ्टमा २०० परीक्षार्थी सहभागी हुने व्यवस्था मिलाइएको छ।

‘उत्पादन क्षेत्रको परीक्षा माघको अन्त्यमा सकिन्छ,’ ईपीएस शाखाकी निर्देशक बिन्दा आचार्यले भनिन्, ‘तर, डिसेम्बर अन्त्यमा क्रिसमस र जनवरीको सुरुमा अंग्रेजी नयाँ वर्षको बिदा पर्ने भएकाले बीचको एक हप्ता परीक्षा सञ्चालन हुने छैन। त्यसपछि पुनः निरन्तरता पाउनेछ।’

उत्पादन र कृषि तथा पशुपालन दुवै क्षेत्रको परीक्षा सम्पन्न हुन कुल १०३ दिन लाग्ने अनुमान गरिएको छ।

पहिलो चरणको परीक्षा सकिएपछि कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका ३५ हजार २१८ जनाको परीक्षा सुरु हुनेछ। तर, यसको तालिका फागुन २१ गतेका लागि प्रस्तावित प्रतिनिधिसभाको निर्वाचनले निर्धारण गर्ने निर्देशक आचार्यले बताइन्।

‘यदि चुनाव निर्धारित समयमा भएमा कृषि तथा पशुपालन क्षेत्रको परीक्षा चुनावपछि मात्रै हुन्छ,’ उनले भनिन्, ‘चुनाव नहुने अवस्थामा भने परीक्षार्थीहरूले त्योभन्दा अगाडि नै परीक्षा दिने अवसर पाउन सक्नेछन्।’

नयाँ परीक्षा सुरु भएसँगै यसअघि नै भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरूले आफ्नो प्रक्रियामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। उनीहरूले नयाँ परीक्षा रोकेर आफूहरूलाई पहिले पठाउनुपर्ने मागसमेत राख्दै आएका थिए।

तर, ईपीएस शाखाले हाल सञ्चालन भइरहेको परीक्षा सन् २०२७ को कोटाका लागि भएकाले पुरानो रोस्टरमा रहेकाहरूलाई कुनै असर नपर्ने स्पष्ट पारेको छ।

‘अहिलेको परीक्षाले पुरानो रोस्टरमा रहेकाहरूको छनोट प्रक्रियामा कुनै प्रभाव पार्दैन, त्यसैले उहाँहरूले चिन्ता लिनु पर्दैन,’ निर्देशक आचार्यले आश्वस्त पारिन्।

भाषा पास गरेकै भरमा कोरिया जान नपाइने

नेपाल, ईपीएसअन्तर्गत कोरियामा सबैभन्दा बढी श्रमिक पठाउने देश हो। कोरियाले चाहेको भन्दा अत्यधिक संख्यामा नेपालीले आवेदन दिने गरेका छन्। तर, भाषा परीक्षा उत्तीर्ण गर्नु कोरिया जानका लागि एकमात्र योग्यता भए पनि यो रोजगारीको ग्यारेन्टी भने होइन।

यो वर्ष परीक्षा दिएकाहरूमध्येबाट उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय गरी कुल ५,३०० जनाको मात्रै माग रहेको छ।

‘भाषा परीक्षा उत्तीर्ण भएपछि उहाँहरूलाई रोस्टरमा राखिन्छ,’ निर्देशक आचार्यले प्रक्रियाबारे बताइन्, ‘रोजगारदाताले त्यही रोस्टरबाट आफूलाई चाहिने कामदार छनोट गर्ने हो। त्यसैले भाषा पास गरेका सबैले रोजगारी पाउँछन् भन्ने सुनिश्चित हुँदैन।’

रोजगारदाताको प्राथमिकतामा नपर्दा कतिपय दक्ष युवाहरू पनि कोरिया जानबाट वञ्चित हुन सक्ने उनले बताइन्।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो र सन् २००८ देखि नेपाली कामदार कोरिया जान थालेका हुन्। हाल कोरियामा ४० हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको ईपीएस शाखाको तथ्यांक छ।

प्रकाशित: १ मंसिर २०८२ २२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App