१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोजपुरको भदौरे मेलामा खोटाङका शिक्षकको ह’त्या, एउटै गाउँका ५ महिलासहित ११ जना पक्राउ

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा लागेको भदौरे मेला भर्न पुगेका खोटाङका एक शिक्षकको कुटपिट गरी हत्या भएको छ।

पुरानो रिसइबी साँध्न गरिएको उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले खोटाङकै एउटै वडाका ५ महिलासहित ११ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने र मारिने व्यक्ति सबै एउटै गाउँका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ज्यान गुमाउनेमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर-७ का ३९ वर्षीय भानुभक्त राई रहेका छन्। उनी सोही स्थानको सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक थिए।

गत भदौ ११ गते राति करिब पौने १२ बजे साल्पासिलिछो गाउँपालिका-५ माबुस्थित मेलामा राईमाथि समूहगत रूपमा कुटपिट भएको थियो। पुरानो विवादको विषयलाई लिएर भएको कुटपिटबाट शिक्षक राईको मृत्यु भएको मौखिक जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार घटनामा संलग्न भएको आशङ्कामा भदौ १२ गते तत्कालै ११ जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई आज भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्ने सबै खोटाङको केपिलासगढी गाउँपालिका-७ कै बासिन्दा हुन्। पक्राउ पर्ने पुरुषहरूमा २१ वर्षीय प्रवेश भन्ने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतिक राई, २५ वर्षीय माईकल भन्ने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेर बहादुर भन्ने अमर राई र ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई रहेका छन्।

यसैगरी, शिक्षक हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँका ५ जना महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने महिलाहरूमा ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेज कुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेका छन्।

प्रकाशित: १७ भाद्र २०८३ १७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App