५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

कर्यसम्पादन मूल्याङ्कनमा खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट

हलेसी तुवाचुङ नगरपालिका कार्यालय भवन।

गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रथम भएको खोटाङको हलेसी तुवाचुङ नगरपालिका यस वर्ष पनि उत्कृष्ट ठहरिएको छ। नेपाल सरकार, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको ०८१/८२ को मूल्याङ्कनमा ७२.५५ अङ्क ल्याउँदै यसवर्ष पनि उत्कृष्टमा आफूलाई दर्ज गरेको हो।

दुई नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीयतह रहेको खोटाङमा आयोगले निर्धारण गरेका विभिन्न १७ वटा सूचीको कार्यान्वयनमा अगाडि पर्दै हलेसी तुवाचुङ कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको हो। महिला नेतृत्वको हलेसी तुवाचुङले गत वर्षभन्दा शून्य दशमलव ४१ अंक बढी पाउँदै यस वर्ष प्रथम स्थान सुरक्षित गरेको हो। गत वर्ष हलेसी तुवाचुङले ७१.९४ अक पाउँदै प्रथम भएको थियो।

माघ २९ गते प्रकाशित वित्त आयोगको नतिजा अनुसार हलेसी तुवाचुङ प्रथम हुँदा साकेला गाउँपालिका भने ४८.९४ अङ्क पाउँदै अन्तिम सूचीमा परेको छ। सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७१.९४ अङ्क ल्याउँदै दोस्रोमा परेको छ। ६६.४१ अङ्कका साथ खोटेहाङ गाउँपालिका तेस्रो हुँदा बराहपोखरी गाउँपालिकाले ६५.८४ अङ्क लिएर चौथो भएको छ।

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकालाई ६४.८४ अङ्क मिल्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ६३.१४ ल्याएको छ। केपिलासगढी गाउँपालिकाले ५८.७७ पाउको छ भने आयोगले ऐसेलुखर्क गाउँपालिकालाई ५४.४० अङ्क दिएको छ। रावाबेँसी गाउँपालिकाले ५३.१७ अङ्क ल्याएर अन्तिमको दोस्रो बन्न पुगेको छ।

देशभरका ७ सय ५३ वटै स्थानीयतहमा वित्तीय मितव्यसियता र पारदर्शिता कायम गर्दै  सुशासनयुक्त सेवा प्रवाह गर्ने उदेश्यले आयोगले बर्सेनि कार्यसम्पादन मूल्याङ्कनको काम गर्दै आएको छ। जसका लागि कुल १७ वटा सूचक बनाएर स्थानीयतहहरूको मूल्याङ्कन गर्ने गरेको छ।

स्थानीयतहहरूले आगामी आर्थिक वर्षको बजेट चालु वर्षकै असार १० गतेभित्र सार्वजनिक गरिसक्नुपर्ने र असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने प्रावधान अघि सारेको छ। त्यसैगरि गतवर्षको घरजग्गा रजिस्ट्रेसन शूल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापतको रकमध्ये ४० प्रतिशत हिस्सा बुझाउनुपर्ने प्रदेश सरकारलाई मासिक प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने, आगामी वर्षको बजेट प्रक्षेपणसहितको विवरण तोकिएको समयभित्र अर्थ मन्त्रालयमा बुझाउनुपर्ने, चालु बजेटको समीक्षा गरी  कात्तिक मसान्तभित्र सार्वजनिक गर्नु पर्ने प्रावधानहरू आयोगको सूचकमा छन्।  

त्यसैगरी राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु रकम, सूत्रको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, महिलाहरूको नियमित गर्भ जाँच अनुपात, एसईई परीषाको नतिजा, बालबालिकालाई खोप लगाएको अनुपातहरू पनि आयोगको सूचीभित्र राखिएका छन्।  

अघिल्लो कार्यकालमा उपप्रमुख भएर अनुभव सँगालेकी बिमला राई हाल नगरप्रमुख हुन्। ०७४ की उपमेयर हुँदा नगरबासीको मन मुटुमा बस्न सफल भएकैले ०७९ मा मेयर निर्वाचित राईको नेतृत्वले हलेसीलाई लगातार विकास र समृद्धितर्फ अघि बढाइरहेको स्थानीय बताउँछन्।  

नगर प्रवक्ता कलम गिरीका अनुसार सबभन्दा ठूलो हलेसी तुवाचुङको समस्या खानेपानी भएकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर दीर्घकालीन योजना अघि बढाउन मेयर राईको टिम लागिरहेको छ। पछिल्लो दुई वर्षयता खानेपानी समस्या समाधानको अन्तिम चरणमा पुगिसकेको छ।  

त्यस्तै पर्यटन, कृषि, धार्मिक पर्यटन, शिक्षा, स्वास्थ्य, सडक र रोजगारी सृजनाका कार्यहरू राई नेतृत्वको नगरपालिकाले युद्धस्तरमा गर्दै आएको प्रवक्ता गिरी बताउँछन्। गाउँघर आफै पुग्ने, नगरबासी महिला, युवा, विद्यार्थी सबैसँग घुलमिल हुने र उनीहरूका समस्या, गुनासा र सुझाव सल्लाह सुनेर अघि बढ्ने गरेकैले नगरबासीका लागि मेयर राई अनुकुल पात्र बन्न सफल भएको स्थानीयको भनाइ छ।

प्रकाशित: २ फाल्गुन २०८२ २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App