२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

काभा भलिबल: लगातार दोस्रो हारपछि विश्व वरीयतामा तीन स्थान खस्कियो नेपाल

पाँचौं सेटसम्म प्रतिस्पर्धा गरे पनि नेपालले पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ।

पाकिस्तानको राजधानी इस्लामाबादमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाली टोली दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग ३–२ को सेटमा पराजित हुन पुग्यो। पहिलो खेलमा पनि नेपाली टोली कजाखस्तानसँग ३–२ को सेटमा नै पराजित भएको थियो।

६ राष्ट्र सहभागी राउन्ड रोबिन लिगका आधारमा भएको च्याम्पियनसिपको लिगमा शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। लगातार दोस्रो हारपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ। अब नेपालले आफूभन्दा बलिया टोलीसँग खेल्दै छ।

आफ्नै स्तरको टोली श्रीलंकासँग पनि नेपालले जित निकाल्न सकेन। पहिलो सेट गुमाए पनि नेपाली टोलीले पुनरागमन गर्ने संकेत गरेको थियो। पहिलो सेट श्रीलंकाले २५–१८ ले आफ्नो पक्षमा पार्‍यो।

तर, प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटबाट नेपाली टोली खेलमा फर्कियो। यो सेट २५–२१ ले नेपालको पक्षमा रह्यो। यससँगै बलियो आत्मबल बटुलेको नेपालले तेस्रो सेट पनि २५–१९ ले आफ्नो बनायो।

चौथो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। नेपालले यो सेट २५–२१ ले गुमाउन पुग्यो। खेल २–२ सेटको बराबरीमा पुग्यो। यो नै खेलको टर्निङ पोइन्ट बन्यो।

यसपछि नेपाली खेलाडीले आत्मबल गुमाए। पाँचौं तथा निर्णायक सेटमा नेपालले कमजोर प्रदर्शन गर्‍यो। निर्णायक सेट १५–१० ले गुमाएपछि नेपालले लगातार दोस्रो खेलमा हार बेहोर्‍यो।

नेपालले कजाखस्तानसँग पनि निर्णायक सेटमा कमजोरी प्रदर्शन गरेको थियो। यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को विश्व वरीयता गणना हुने प्रतिस्पर्धा हो।  

हारपछि नेपाल विश्व वरीयतामा तीन स्थान तल झर्दै ८७औं स्थानमा पुगेको छ। श्रीलंका भने तीन स्थान माथि उक्लिँदै ८५औं स्थानमा पुग्यो।

यस च्याम्पियनसिपमा नेपाल र कजाखस्तानसहित आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। पाकिस्तानमा आयोजना भएपछि भारत भने यो च्याम्पियनसिपमा सहभागी भएन।

अफगानिस्तानले भने भिसा नपाएपछि च्याम्पियसिप खेल्न पाएन। सुरुआत १० टोली सहभागी हुने भनिए पनि माल्दिभ्स र किर्गिस्तान पनि सहभागी भएनन्। नेपालले अब तेस्रो खेल शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ।

त्यसपछि नेपालले चौथो खेल आइतबार बंगलादेशसँग र लिगचरणको अन्तिम खेल सोमबार उज्बेकिस्तानसँग खेल्ने तालिका छ। लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

पुछारका दुई टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल खेल जुलाई २८ मा हुनेछ भने फाइनल जुलाई २९ मा हुनेछ। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको थियो।

नेपाली टोलीको मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक रूपेशकुमार विष्ट तथा व्यवस्थापक सोमबहादुर श्रेष्ठ छन्।

नेपाली टोलीमा हिमाल सुनारी, सुनिल बोहोरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रवीन नगरकोटी, दीपेश कुँवर र विनोदबहादुर चन्द छन्।  

प्रकाशित: ७ श्रावण २०८३ २१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App