काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख सहरको सूचीमा पहिलो नम्बरमा परेको छ।
विश्वका प्रमुख सय सहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ।
उक्त संस्थाका अनुसार बिहीबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको ‘लाइभ र्याङ्किङ’ मा काठमाडाैंको वायु गुणस्तर सूचकांक (एक्युआई) १९६ मापन गरिएको छ।
यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो। विश्वका प्रमुख प्रदूषित सहरहरूको यस सूचीमा पाकिस्तानको लाहोर दोस्रो स्थानमा छ। लाहोरको एक्यूआई १६५ मापन गरिएको छ।
त्यस्तै, १४५ एक्यूआईसहित बंगलादेशको ढाका तेस्रो सर्वाधिक प्रदूषित सहर बनेको छ। प्रदूषणको उच्च मापन भएका अन्य सहरहरूमा थाइल्यान्डको चियाङ माई १३२ एक्यूआईसहित चौथो स्थानमा छ।
यसैगरी, अल्जेरियाको अल्जियर्स १२४ एक्यूआईसहित पाँचौं र भारतको कोलकाता १०२ एक्यूआईसहित छैटौं स्थानमा रहेका छन्।

प्रकाशित: १० वैशाख २०८३ १६:१७ बिहीबार





