१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरद्वारा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश निषेध

काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार उक्त ल्यान्डफिल साइटमा हाल दैनिक रूपमा २३ वटा स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन कार्य हुँदै आएको छ।

फोहोरमैला/कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य व्यक्तिहरू प्रवेश गर्दा स्वास्थ्य तथा मानवीय जोखिम बढ्नुका साथै डोजर, एक्साभेटर, लोडर, जेट र टिप्परजस्ता हेभी सवारी साधन निरन्तर सञ्चालन हुने भएकाले दुर्घटनाको सम्भावना रहने भन्दै महानगरपालिकाले यहीँ फागुन ८ देखि प्रवेशमा कडाइ गरेको जनाएको छ।

महानगरपालिकाले अनुमति प्राप्त कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्यलाई ल्यान्डफिल साइट परिसरमा प्रवेश नगर्न आग्रह गरेको छ।

सूचना उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने तथा अनधिकृत प्रवेशका कारण दुर्घटना भएमा कार्यालय जवाफदेही नहुने महानगरपालिकाले स्पष्ट पारेको छ।

प्रकाशित: ८ फाल्गुन २०८२ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App