२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा ग्यास सहज रूपमा बिक्री नगर्ने र लुकाएर राख्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यास सहज रूपमा बिक्री नगर्ने तथा ग्यास लुकाएर राख्ने विक्रेता तथा वितरकमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौंमा ग्यासको आपूर्ति भइरहेको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि प्रशासनले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ जुनसुकै समयमा उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार जारी गरेको अत्यन्त जरुरी सूचनामा ग्यास उद्योगी वा डिलरबाट प्राप्त ग्यास तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको जनाएको छ।

प्रशासनले काठमाडौं जिल्लाभर ग्यासको बिक्री–वितरण अवस्थाबारे सघन अनुगमन भइरहेको जनाएको छ। सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएमा कालोबजारीसम्बन्धी कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

त्यस्तै, ग्यास भण्डारण गरी लुकाएको वा स्टक राखेर बिक्री नगरेको पाइएमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने जनाएको छ।

प्रशासनले ग्यास स्टक लुकाएको वा स्टक राखेर बिक्री नगरेको सम्बन्धमा सूचना भए तत्काल जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ। त्यस्तो सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा फोन गरेर दिन सकिनेछ।

प्रकाशित: २८ भाद्र २०८३ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App