कास्की प्रहरीले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले ‘अपरेसन ३६५’ नामक अभियान सुरु गरेको छ।
मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने तथा शान्ति सुव्यवस्थामा खलल पुर्याउने गतिविधि बढेको जनगुनासो आएपछि यो अभियान थालिएको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार असोज २७ गते सोमबारदेखि सुरु भएको यो अभियान निरन्तर चल्नेछ।
अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूबाट एकैसाथ प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाउने र शान्ति सुव्यवस्थामा खलल पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिइनेछ।
प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा झैझगडा गर्ने चालक र सवारी साधनलाई समेत नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइने कास्की प्रहरीले जनाएको छ।
प्रहरीले सवारीधनीहरूलाई आफ्नो सवारीसाधन असली स्वरूपमै चलाउन र ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउसहरूलाई सवारी साधन मोडीफाई नगर्न-नगराउन अनुरोध गरेको छ।
यदि कसैले सवारीसाधन मोडीफाई गरेर चलाएको पाइएमा सवारीधनी र सो कार्यमा संलग्न व्यक्ति दुवैलाई कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।
प्रकाशित: २८ आश्विन २०८२ २०:२३ मंगलबार





