२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

उमेर ६० पार, जोश अपार: चिया बेचेरै आत्मनिर्भर बनेका काशीराम दम्पती

उमेरले ६० नाघेका दम्पती। हातमा चियाको गिलास र अनुहारमा सन्तुष्टिको मुस्कान। यो कथा हो जुम्लाका काशीराम र देविकन्या भण्डारीको। जसले पेन्सन खाएर आराम गर्ने उमेरमा श्रम र स्वादको अनुपम उदाहरण प्रस्तुत गरिरहेका छन्।

प्रहरीको जागिर र स्याउ खेतीको अनुभवलाई पछि पार्दै विगत १९ वर्षदेखि चिया बेचेरै यो जोडीले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। उनकीहरुको यो परिश्रमले ज्येष्ठ नागरिकहरू केवल आश्रित हुन्छन् भन्ने सामाजिक मान्यतालाई दरिलो चुनौती दिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका-५, शेरा ज्युलाको किनारमा रहेको ‘भण्डारी बा’ को चिया पसल बिहान ७ बजेदेखि नै ग्राहकले भरिन्छ। ६४ वर्षीय काशीराम र ६१ वर्षीया देविकन्यालाई बेलुकी ६ बजेसम्म चिया पकाउन र ग्राहकलाई पस्कन भ्याइनभ्याइ हुन्छ।

‘राम्रो आम्दानी भइरहेको छ। यही चिया बेचेर तीन छोरा र तीन छोरी हुर्कायौं,’ काशीराम गर्वका साथ सुनाउँछन्। उनको पसलमा स्वादिलो र सस्तो चिया पाइने भएकाले दैनिक सयौं ग्राहकको ताँती लाग्छ।

दैनिक ६० माना (करिब ३० लिटर) स्थानीय गाईभैंसीको शुद्ध दूध खपत हुने उनको पसलमा प्रतिदिन ४२० गिलासभन्दा बढी चिया बिक्री हुन्छ। ‘दैनिक ८ हजार ४ सय रुपैयाँको व्यापार हुन्छ, सबै खर्च कटाएर ५ हजार ४ सय रुपैयाँ त बचत नै हुन्छ,’ उनी आफ्नो हिसाब सुनाउँछन्। यही कमाइले उनीहरूले १० जनाको परिवार धानिरहेका छन् भने कान्छी छोरीलाई ‘अनमि’ पढाउँदै छन्।

काशीरामको जीवनयात्रा पनि कम रोचक छैन। १५ वर्षको उमेरमा नागरिकतामा उमेर बढाएर २०२९ सालमा नेपाल प्रहरीमा भर्ती भएका उनी २०४१ सालमा जागिर छाडेर निस्किए।

उनका सहकर्मीहरू अहिले पेन्सन बुझ्छन्, तर उनी चियाको भाँडोमा भविष्य खोजिरहेका छन्। प्रहरीको जागिर छाडेपछि स्याउ खेतीमा पनि हात हालेका उनले अन्ततः चिया व्यवसायमा नै आफ्नो सन्तुष्टि र सफलता भेट्टाए।

यो सफलताको यात्रामा देविकन्याको साथ उत्तिकै महत्त्वपूर्ण छ। ‘कहिले उहाँ चिया उमाल्नुहुन्छ, कहिले म। समयअनुसार गिलास उठाउने र माझ्ने गर्छौं। सुखैमा जीवन बाँचिरहेका छौं,’ उनी भन्छिन्।

बजारमा मूल्य बढ्दा पनि उनीहरूले १९ वर्षदेखि प्रतिगिलास २० रुपैयाँमै चिया बेचिरहेका छन्।

दम्पतीले ६० वर्ष पुगेदेखि सामाजिक सुरक्षा भत्ता पनि बुझ्दै आएका छन्। तर, उनीहरूको विश्वास आफ्नै पाखुरामा छ। ‘आफ्नो पाखुरामा बल हुँदासम्म आफैं काम गरेर खानुपर्छ,’ देविकन्या दृढताका साथ भन्छिन्।

उनीहरूको यो लगनशीलता र आत्मनिर्भरता देखेर जागिरे जीवनबाट अवकाश पाएका पुराना साथीहरू पनि छक्क पर्छन्। चिया पसलबाटै भएको आम्दानीले कहिलेकाहीँ उनीहरू देशका विभिन्न तीर्थस्थल घुम्न समेत निस्कन्छन्। ५ हजार रुपैयाँ ऋणबाहेक आफ्नो बलबुतामा उभिएको यो दम्पती आज समाजका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित: २९ श्रावण २०८२ २१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App