२ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

कर्णालीका सडक ‘मृत्युमार्ग’

मुगुको छायानाथ रारा नगरपालिका-७ टोप्लास्थित ताल्चा-रारा सडकमा राराताल घुम्न जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए। आइतबार दिउँसो ४ बजे हाईलक्स जिप सडकबाट अन्दाजी ६ सय मिटर तल खस्दा एक जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी, ५० वर्षीया पूर्णबहादुर थापा, र ललितपुरकी ५४ वर्षीया अञ्जु थापा रहेका छन्। थापाको ललितपुरस्थित बी. एन्ड बी. अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, ५८ वर्षीय चालक कञ्चन थापा घाइते भएका छन्। घाइतेको थप उपचार ललितपुरस्थित बी. एन्ड बी. अस्पतालमा भइरहेको मुगुका डिएसपी रविराज थपलियाले बताए।  

दुर्घटनापछि उद्धारमा खटिएको प्रहरी टोलीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा उल्लेख गरिएको सम्पर्क नम्बरका आधारमा परिवारलाई खबर गरेको थियो। घुम्न निस्किएका आफन्त दुर्घटनामा परेको खबरले परिवार शोकमा डुब्न पुग्यो। राराताल पुगेर रमाइलो गर्ने योजनासहित घरबाट बिदा भएका उनीहरू अब कहिल्यै फर्कने छैनन्। उनीहरू राराताल घुम्न जाँदै थिए।  

कालिकोटको रास्कोट नगरपालिकाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १३१५ नम्बरको डबल क्याप जिप गत सोमबार (२३ कार्तिक गते) बिहान ४ बजे दैलेख गुराँस गाउँपालिका-१ काफलतोलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो।  

मृत्यु हुनेमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीया योगेश सिम्खाडा र सोही वडाका ४१ वर्षीया रने सार्की रहेका छन्। जीपमा सवार ६ जना मध्य चार जना घाइतेको सुर्खेतमा उपचार भइरहेको छ।  

मुगुका डिएसपी रविराज थपलियाका अनुसार सडकको जीर्ण अवस्थाले दुर्घटना भएको बताए। उनले राराताल घुम्न पुग्ने पर्यटकका लागि सडक निकै जोखिम रहेको बताए। पहिरो झरेको स्थानमा सडक भासिएकाले गाडी दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको उनले बताए।

कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गमा तत्काल भएका यी केही साना दुर्घटनाका मात्र हुन्। कर्णाली राजमार्गमा ठूला साना दुर्घटनाको संख्या त पाँच सय हाराहारी पुग्छ।  

साँघुरो र अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा बताउँछन्।

‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेको छ,’ उनले भने, ‘कर्णालीको भूगोल यसै कठिन छ। सडक पनि जीर्ण हुनाले दुर्घटना रोक्न चुनौती छ।’ दुर्घटना कम गर्न प्रहरीले  विभिन्न सचेतनाका कामहरू गरिरहेको बताए। उनले सडम मर्मत, यान्त्रिक चेकजाँच लगायतमा समेत ध्यान दिन जरुरी रहेको बताए।  

कर्णाली राजमार्गलाई स्तरोन्नति गर्ने चुनावी नारा बनाउने दैलेख, जुम्ला, मुगु र कालिकोटका राजनीतिक दलहरूले निर्वाचन जितेपछि बेवास्ता गर्ने गरेको दैलेखको आठबीस नगरपालिका-५ का नविन विष्टले बताए।  

‘राजमार्ग पिच गरी दुई लेनको बनाउने नारा सधैं लगाउँछन्,’ उनले भने, ‘तर जितेर गएपछि कहिल्यै वास्ता गर्दैनन्।’ कर्णाली राजमार्ग गतिलो नहुँदासम्म कर्णालीको विकास अधुरो हुने उनको भनाइ छ। उनले कर्णालीका सडकमा सधै भगवान भरोसामा यात्रा गर्नपर्ने बाध्यता हर कोहीलाई रहेको गुनासो गरे।

राजमार्गमा बर्खाको समयमा ठाउँठाउँमा पहिरो जाँदा जुम्ला, कालिकोट, मुगु र दैलेखका बासिन्दाले ठूलो सास्ती खेप्दै आएका छन्। सडक डिभिजन सुर्खेतले समेत आफ्नो दायरा भित्रको सडक मर्मत तथा सम्भारमा समेत ध्यान नदिएको स्थानीयको आरोप छ। सडक डिभिजन सुर्खेतले हेर्ने सुर्खेतदेखि कालिकोटको सिमाना दहीखोलासम्मको सडक सारै जीर्ण छ।

‘सामान्य वर्षा हुनेबित्तिकै बडेमानका चट्टान सडकमा उभिन्छन्, जतिसुकै ठूला उपकरण लगाए पनि १/२ दिनमा पन्छाउन सकिँदैन, हप्तौपछि मात्र सडक खुल्छ।’ जुम्लाको चन्दनाथ नगरपालिकाका गोरख थापाले भने, ‘कर्णाली राजमार्ग मृत्युमार्ग मात्र बनिरहेको छैन, कर्णालीको अनिकाल र भोकमरी निम्त्याउने धराप पनि बनिरहेको छ।’  

उनले रारा घुम्न आएका पर्यटकहरूको जिप दुर्घटनाको हृदयविदारक घटनाले सिङ्गो खास कर्णालीलाई फेरि एक पटक स्तब्ध र मर्माहत बनाएको बताए। उनले ​मृत्युमार्ग बनेका कर्णालीका राजमार्ग र राज्यको मौनता केवल एउटा दुर्घटना मात्र नभइ वर्षौंदेखिको पूर्वाधार विकासमा जिम्मेवार निकाय र सम्बन्धित अधिकारीहरूको चरम असक्षमता, राज्यको उदासीनता र कर्णाली प्रतिको हेला प्रवृत्तिको परिणाम भएको बताए।

उनले भने, ‘जेनजी सरकार वा परिवर्तनको दाबी गर्ने वर्तमान नेतृत्वबाट कर्णालीवासीले धेरै अपेक्षा गरेका थिए,तर विडम्बना- खास कर्णालीका नागरिक र यहाँ घुम्न आउने पाहुनाहरूको जीवन अझै पनि जोखिमपूर्ण रहेको छ।’

उनले खास ​कर्णालीका राजमार्ग कहिलेसम्म मृत्युमार्ग बनिरहने? ​सडकको यो जीर्ण र दयनीय अवस्थाको अन्त्य कहिले हुने? ​नागरिकको बाँच्न पाउने अधिकारमाथि खेलबाड कहिलेसम्म? भन्दै सरकारलाई प्रश्न गरेका छन्।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको १ सय ६८ किलोमिटरमा १५ स्थानमा पहिरोको जोखिम छ। दहीखोला, गगनेखोला, एसमोड, हुल्म, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा बर्सेनि पहिरोको बढी जोखिम छ।

सडक डिभिजन कार्यालय जुम्लाले समेत चट्टान र भिरमा काम नगरी सजिलो ठाउँमा मर्मतको काम गरेको आरोप छ। सडकले विभिन्न ठाउँमा गरी करोडौं रकम खर्च गरेको देखिन्छ। तर सडकको अवस्था भने उस्तै छ। कालिकोट खण्डका विभिन्न साँघुरा भागमा काम नगरी सजिलो ठाउँमा धेरै काम गरेको पाइन्छ। कालिकोटको एस मोड, पिली, ताडी लगायतका जोखिमपूर्ण सडक मर्मतमा चासो छैन।  

हल्ला धेरै, कामको गति सुस्त

३५ वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्गमा साढे १९ वर्षअघि मात्र ट्र्याक खोलिएको हो। राजमार्गले सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। तर सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नपर्ने बाध्यता छ।

‘साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न समस्या हुन्छ, अर्कोपट्टिबाट गाडी आए ब्याक गर्नुपर्छ,’ गाडी चालक कमल खत्रीले भने, ‘सडकमै कुनै गाडी बिग्रिए अरू गाडीका समेत त्यतै बास बस्नुपर्छ।’

२०६३ चैत ३० गते सुर्खेतदेखि जुम्लासम्म सडकको ट्र्याक खुलेको कर्णाली राजमार्गले झन्डै दुई दशक पार गर्न लाग्दा पनि सरकारले सडक मर्मतका खर्च गरेको करोडौंको लगानी खेर गइरहेको छ। अहिले पनी सडक स्तरोन्नति र गुणस्तरीय सडक नहुँदा नागरिकले दु:ख पाएका छन्।  

सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको खाँडाचक्र नगरपालिकाका युवा अभियन्ता हिक्मतजंङ मल्ले बताए। उनले भने, ‘अहिले वर्षैभरि धूलो र हिलोमा यात्रा गर्नपर्ने बाध्यता छ।’ सुर्खेतबाट जुम्लासम्म ठाउँठाउँमा झरिरहने पहिरोका कारण पनि यात्रु सास्ती भोग्न बाध्य भएको उनी बताउँछन्।  

उनले कर्णालीको प्रमुख पर्यटकीय स्थल रारा पुग्ने एक मात्र कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता हुँदा पर्यटक भित्र्याउन समस्या भएको बताए।  उनले थपे ‘हामी (कर्णालीवासी) लाई अरू विकास चाहिएको छैन,’ ‘यही बाटो (कर्णाली राजमार्ग) सडक दुई लेनको पक्की बनाइदिए पुग्थ्यो।’ उनका अनुसार सडक जीर्ण र साँघुरो हुँदा सुर्खेतबाट मुगु, जुम्ला पुग्न दुई दिन लाग्ने गरेको छ।

कर्णाली प्रदेशमा सडक दुर्घटनामा परी पछिल्लो ३ वर्षको हालसम्म ४ सय ४० जनाले ज्यान गुमाएका छन्। जीर्ण र कच्ची सडक, क्षमताभन्दा बढी यात्रु राखिनु र पुराना गाडीका कारण कर्णालीका सडकमा दुर्घटना बढ्दै गएको हो। चाडपर्वको समयमा झन धेरै सवारी दुर्घटना भएको देखिन्छ।  

पछिल्लो तीन वर्षमा कर्णाली प्रदेशमा ३ आर्थिक वर्षमा प्रहरीका अनुसार प्रदेशभर आर्थिक वर्ष २०८०८१ मा सवारी दुर्घटना संख्या १ हजार ८६ थियो, भने २ हजार ७७ जना गम्भीर घाइते भए, जसमा १ सय १२ जनाको मृत्यु भयो।

आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनाको संख्या ९ सय ६८ मा ७ सय २ जना गम्भीर घाइते भए, १ सय ३९ जनाको मृत्यु भयो।  

आर्थिक वर्ष २०८२/८३ को मा सवारी दुर्घटनामा १ हजार १ सय ९७ सवारी दुर्घटनामा १ हजार ३५ जना गम्भीर  घाइते भए, जसमा १ सय ३५ ज्यान गुमाएका छन्।

चालू आर्थिक वर्ष २०८३/८४ मा ४ सय ८७ सवारी दुर्घटनामा भएको मा २ सय ७१ जना गम्भीर घाइते भए, ५४ जनाको मृत्यु भएको छ।

सडकको दुरावस्था र ओभरलोडकै कारण सबैतिर दुर्घटना बढिरहेको कालिकोटका डिएसपी हिमबहादुर खत्री बताउँछन्। ‘कर्णालीमा चल्ने अधिकांश गाडी पुराना हुँदा पनि दुर्घटना रोक्न चुनौती थपिएको छ,’ उनले भने, ‘घाइतेले समयमै उपचार नपाउँदा पनि दुर्घटनामा मृतकको संख्या बढेको हो।’ उनले सुर्खेत देखि कालिकोट, जुम्लाको लागि रात्रिकालीन यात्रा समेत बन्द गर्दा कालिकोट र जुम्लामा दुर्घटना कम भएको बताए।  

दुर्घटनाबाट हुने मानवीय क्षतिसँगै आर्थिक क्षति, उपचारको खर्च, परिवारको मानसिक आघात, आश्रितहरूको भविष्य र सामाजिक पुनर्स्थापनाका चुनौती पनि उत्तिकै गम्भीर छ। दुर्घटनापछिको पीडा कतिपय परिवारका लागि जीवनभर नमेटिने घाउ बनेर रहन्छ।  

नेपालमा सडक सुरक्षा र यातायात व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी सञ्चालन, चालकको योग्यता, यात्रुको सुरक्षा, सवारीको क्षमता, गति नियन्त्रण, ट्राफिक संकेत र दुर्घटनापछिको दायित्वसमेत स्पष्ट गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App