लगातार भइरहेको वर्षाका कारण कालीकोट खण्डको कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। खाँडाचक्र नगरपालिका–७ पिली र पाखाको सीमाना रातिमाटामा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आइतबार साँझ ५:२० बजेतिर करिब ५ देखि ७ मिटर सडक भासिएपछि कर्णाली राजमार्गको यातायात पूर्ण रूपमा रोकिएको हो। कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले सडक भासिएसँगै राजमार्गमा आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएको बताए।
उनका अनुसार सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउने सम्बन्धमा सम्बन्धित निकायले आवश्यक पहल गर्ने तयारी भइरहेको छ।
लगातारको वर्षाका कारण राजमार्ग तथा ग्रामीण सडकमा पहिरो जाने, सडक भासिने र यातायात अवरुद्ध हुने जोखिम बढेको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले वर्षा भइरहेको अवस्थामा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।
भारी वर्षापछि बाढी, पहिरो, चट्याङ र सडक अवरोधको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले आइतबार अपिल जारी गर्दै सम्भावित विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेका छन्। साथै, विपद्को अवस्था आए सूचना सम्प्रेषण, उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित सबैलाई उनले आग्रह गरेका छन्।
प्रकाशित: २१ भाद्र २०८३ २०:३१ आइतबार





