२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

फोर्स गाडी दुर्घटना : सुर्खेत-कैलालीमा दुई शव फेला, बेपत्ता यात्रुकै हुनसक्ने आशंका

वीरेन्द्रनगर असार २२–कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी चलिरहेको बेला सोमबार बिहान दुई शव फेला परेका छन्।

ती शव दुर्घटनामा हराएका यात्रु तथा चालक वा सहचालक मध्येका हुन सक्ने आशंका प्रहरीले गरेको छ।

जिल्लाको मोहन्याल गाउँपालिका–६, सुँगुरखाल र सुर्खेतको पश्चिम बाबियाचौर क्षेत्रमा अन्दाजी ३५ वर्षीय एक पुरुषको शव उत्तानो परेको अवस्थामा फेला परेको हो।

प्रहरीले उक्त शव दुर्घटनामा हराएका चालक वा सहचालकमध्ये एक हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

यस्तै, लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित बुरिङ्गे क्षेत्रमा थप एक जनाको शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) जय राज सापकोटाले जानकारी दिए। उनका अनुसार दुई शवको सनाखत हुन बाँकी छ।

प्रहरीका अनुसार यी शव गत बिहीबार कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुमध्येका हुन सक्ने आशंका गरिएको छ।

शवको पहिचानका लागि हराइरहेका व्यक्तिका आफन्तलाई बोलाइएको छ भने सनाखत र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गुर्भाकोट नगरपालिकाको जहरेस्थित भेरी नदीबाट बगेका एक युवती कर्णाली नदीमा पुगेको  आशंका गर्दै खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।

घटनास्थलमा प्रहरी टोली परिचालन गरी खोजी तथा अनुसन्धान तीव्र पारिएको छ।

प्रकाशित: २२ असार २०८३ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App