कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य विधाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको नौमूलेमा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मेलन २०८३’ आयोजना हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते उक्त सम्मेलन हुन लागेको हो ।
सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन आज दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कार्यक्रमको विस्तृत रूपरेखा प्रस्तुत गरे । उनले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य र लोक नाटकहरू एउटै मञ्चमा प्रदर्शन गरिने जानकारी दिए ।
‘हामीले यस कार्यक्रमलाई तीन विशेष सत्रमा विभाजन गरेका छौँ’, प्राज्ञ हमालले भने, ‘एउटा सत्रमा कर्णालीको लोक नृत्य र संस्कृतिको वर्तमान अवस्थाबारे गहन अन्तरक्रिया एवं गोष्ठी हुनेछ भने अर्को सत्रमा १० वटै जिल्लाका विशिष्ट लोकसङ्गीत र नृत्यका स्रष्टा एवं सर्जकहरूलाई विशेष सम्मान गरिनेछ ।’ उनले यस पटकको सम्मेलनमा दैलेखको कला र संस्कृतिलाई विशेष महत्वका साथ प्रदर्शन गरिने बताए ।
पत्रकार सम्मेलनमा नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले पालिकाले कार्यक्रमको भव्य तयारी गरिरहेको बताए । भौगोलिक विकटताका कारण नौमूले बजारमा यति ठूलो प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि कुनै समस्या हुन नदिने उनले प्रतिबद्धता जनाए।
सम्मेलनमा दैलेखका ११ वटै स्थानीय तहका सांस्कृतिक समूहहरू केन्द्रित हुने छन् भने अन्य नौ जिल्लाबाट कलाकार आफ्ना मौलिक प्रस्तुतिसहित सहभागी हुनेछन् । नेपाल सङ्गीत, नाट्य र नृत्यको क्षेत्रमा अनुसन्धान गर्ने तथा स्रष्टालाई प्रोत्साहित गर्ने प्रतिष्ठानको उद्देश्यअनुसार यो कार्यक्रम आयोजना गरिएको हो ।
प्रकाशित: १ वैशाख २०८३ १६:०३ मंगलबार





-600x400.jpg)