कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि बुद्धिचाल प्रतियोगितामा सुरु भएको छ। ७२ वर्षका वृद्ध र १० वर्षका बालक एउटै चेस बोर्डमा दिमागको लडाइँ लड्दै ‘कर्णाली कप रेटिङ्ग बुद्धिचाल प्रतियोगिता-२०२६’ मा भिडिरहेका छन्।
कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा असार २० देखि २२ गतेसम्म चल्ने यस प्रतियोगितामा प्रदेशभरका विभिन्न जिल्लाबाट ८४ जना खेलाडी सहभागी छन्।
कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्ल माक्स श्रेष्ठका अनुसार प्रदेशकै इतिहासमा पहिलोपटक यति ठूलो धनराशिसहितको रेटिङ्ग प्रतियोगिता आयोजना गरिएको हो।
‘यसले कर्णालीमा बुद्धिचाल खेलको विकास गर्न, नयाँ पुस्ताका खेलाडी उत्पादन गर्न र उनीहरूको अन्तर्राष्ट्रिय रेटिङ्ग सुधार गर्न ठूलो मद्दत पुग्नेछ,’ उनले भने।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा गरी कुल २ लाख २९ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यस आयोजनाले गाउँघरमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न थप प्रेरणा मिल्ने आयोजकको विश्वास छ।
प्रकाशित: २० असार २०८३ १९:१३ शनिबार





