७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुनमा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार ४३१ सवारी कारबाही परेका हुन् । 

ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए ।  रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडकखण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग सुरक्षा गस्ती गर्ने क्रममा ती सवारीसाधन कारबाहीमा परेको बताए ।  

‘फागुनमा ९३ सवारी दुर्घटना हुँदा १३१ सवारी संलग्न रहेका पाइएको छ । उक्त दुर्घटनामा सात पुरुष र एक महिला गरी आठ जनाको मृत्यु भएको छ’, सूचना अधिकारी बिसीले भने , ‘दुर्घटनाको कारण ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका गरी १६० जना घाइते भएका थिए । त्यसमा ६४ गम्भीर र ९६ सामान्य घाइते भएका छन् ।’  दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक तथा लागुपदार्थ सेवन, चालकको असक्षमता, गलत स्थानमा पार्किङलगायत रहेको बताए ।  

सूचना अधिकारी बिसीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालनासम्बन्धी विद्यालय, कलेजमा ट्राफिक सचेतना कक्षा सञ्चालन, व्यवसायी, चालक परिचालक, स्थानीय टोल, समुदाय, सर्वसाधरण, पैदल यात्रुलाई पनि ट्राफिक सचेतना गराइएको छ । त्यसबाट ३२ हजार ५६ जना लाभान्वित भएका जानकारी दिए ।  

फागुनमा ७८ हजार ८३९ सवारीसाधनको जाँच गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ।  

प्रकाशित: ७ चैत्र २०८२ १६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App