हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेको छ। यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोकचोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ।
नेपालगञ्जमा चार दशकदेखि कर्णालीको स्याउ थोक बेच्दै आएका प्रेमलाल साहु तेलीले विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग विभिन्न सहरमा बढ्दै गएको बताए। “पश्चिम नेपालको फलफूल बजारमा अहिले कर्णालीको स्याउको दबदबा छ, भारतीय स्याउभन्दा सस्तो र राम्रो भएकाले उपभोक्ताले कर्णालीको स्याउ मन पराउने गरेका छन्”, थोक व्यापारी साहुले भने, “सुर्खेत नेपालगञ्ज, धनगढी बुटवल लगायतका सहरमा हिजोआज जुम्लाको स्याउ खोज्दै ग्राहक आउने गरेका छन्।”
नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहेका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरहरूमा स्याउ बिक्री वितरण गर्ने गरेका छन्। कर्णाली प्रदेशका बजारमा भने सुर्खेतबाट वितरण हुने गरेको उनको भनाइ छ।
कर्णालीको स्याउ विदेशी स्याउभन्दा स्वादिलो र सस्तो भएकाले पनि आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। अहिले ग्रेडिङ भएको स्याउको थोक मूल्य प्रति किलो अधिकतम १०० रूपैयाँ छ।
ग्रेडिङ नभएको स्याउ न्यूनतम प्रति किलो ६० मा नेपालगञ्जबाट बिक्री हुने गरेको थोक विक्रेता प्रेमलालले बताए। उनका अनुसार स्याउको आकार र गुणस्तर अनुसार ६० देखि सयसम्ममा खुद्रा विक्रेताले खरिद गरेर पश्चिम नेपालका सहरहरूमा बेच्दै छन्। नेपालगञ्जमा फलफूलको थोक विक्रेता दुई दर्जन जति छन्।
विदेशी स्याउ विस्थापित
अहिले बजारमा कर्णालीको स्याउले विदेशी स्याउ विस्थापित गरेको छ। सडक विस्तार भएसँगै आकर्षक, स्वादिलो र अर्गानिक जुम्लाको स्याउ बजारमा आएपछि यसको माग बढ्दै गएको हो। कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध रहेको छ।
नेपालगञ्जमा कर्णालीको स्याउको थोक बिक्रेता प्रेमलाल साहुले साउन, भदौ र असोज गरी तीन महिना पश्चिम नेपालका सहरमा कर्णालीको स्याउले विदेशी स्याउ विस्थापित गर्ने गरेको बताए।
विगतमा हवाईजहाज मार्फत नेपालगञ्ज ल्याएर कर्णालीको स्याउ बेचेका साहुले अहिले कर्णालीमा सडक सञ्जाल पुगेपछि स्याउको ढुवानीमा सहज भएका कारण बजार विस्तार हुँदै गएको उल्लेख गरे। “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपर्थ्याे, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने र सड्ने जोखिम धेरै हुन्थ्यो”, उनले भने, “अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउ विस्थापित गर्न सकेको छ।”
विगतका वर्षमा भारतीय स्याउले भरिने फलफूल बजारमा अहिले कर्णालीको अर्गानिक स्याउ छ। नेपालगञ्ज बजारमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए।
नेपालगञ्जमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउ आउने गरेको उनको भनाइ छ। जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ। नेपालगञ्जका फलफूल व्यापारीहरू अहिले कर्णालीका स्याउ बेच्न व्यस्त छन्। कर्णालीका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ।
उपभोक्ता र व्यापारी दुवै लाभान्वित
नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल मण्डीमा कर्णालीको स्याउ आउने गरेको छ। मण्डीबाट खुद्रा विक्रेताहरूले किनेर बजारमा बेच्दै छन्। स्याउका खुद्रा व्यापारी नेपालगञ्जको त्रिवेणीमोडस्थित महाराजा फ्रुटका सञ्चालक कमल सुनारले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौं पनि लैजाने गरेको बताए।
भारत र चीनबाट भित्रिएको स्याउको मूल्यको तुलनामा नेपाली स्याउको मूल्य पनि कम हुनुका साथै स्वच्छ भएको हुँदा नेपाली स्याउले राम्रो बजार लिन सफल भएको छ। चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले कर्णालीको स्याउ बेच्न पाउँदा खुसी लागेको फलफूल व्यापारी सुनारको भनाइ छ।
कर्णालीको स्याउले नेपालगञ्जमा राम्रो बजार पाएसँगै त्यहाँका किसानलाई पनि ठूलो फाइदा पुगेको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले विदेशी स्याउ विस्थापित हुनुले कर्णालीको स्याउको बजार विस्तार भएको मात्रै नभई यसले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याएको बताए। कर्णालीको स्याउ ग्रेडिङ, गुणस्तर कायम र ढुवानीमा सहजताको लागि प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
विगतमा ठेला तथा फलफूल पसलमा खुद्रा व्यवसायीले कर्णालीको स्याउ बेच्दै आएकामा केही वर्षयता नेपालगञ्जमा कर्णालीका महिलाले स्याउ बेच्ने गरेका छन्। नेपालगञ्जका धम्बोझी, कारकाँदो लगायतका चोक चौराहमा लहरै बसेर कर्णालीका महिलाले स्याउ बिक्री वितरण गरिरहेका छन्। नेपालगञ्जमा अस्थायी रूपमा बस्दै आएका महिला र उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीले यस याममा स्याउ बेचेर राम्रो आम्दानी गर्ने गरेका छन्।
नेपालगञ्जको धम्बोझीमा दसैँतिहार लक्षित गरेर अहिलेदेखि नै कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ। धम्बोझी चोकमा कर्णालीका महिलाहरूले भदौ पहिलो हप्तादेखि नै स्याउको बेच्दै आएका छन्। जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगञ्जमा स्याउ बेच्न आएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बेच्ने गरेको बताइन्। अन्य बेलाभन्दा चाडपर्वको बेला स्याउ धेरै बिक्री हुने गरेको छ।
पहाडबाट प्याकिङ गरेर ल्याएको स्याउ बिक्री गरेर दसैंतिहार मनाउने रुपैयाँ कमाइ हुने गरेको रोकायले बताए। “जुम्लाको स्याउ भन्नेबित्तिकै धमाधम बिक्री भइहाल्छ, धेरै जनाले बिक्री गर्ने भएकाले दर रेटमा फरक पर्दैन”, उनले भने, “यो सिजनमा दुई क्विन्टल बिक्री भइसक्यो, यसैबाट दसैँ, तिहार मनाउने र केटाकेटीको पढाइ खर्च जुटाउने आशा छ।”
कर्णालीको स्याउ चाडबाडमा कोसेली
कर्णालीको जैविक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि चाडवाडमा कोसेलीका रूपमा घरघरमा पुगेको छ। आयातित भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ।
नेपालगञ्जको धम्बोझी क्षेत्रमा कर्णालीको स्याउ किनमेल गर्ने उपभोक्ताको बिहानैदेखि साँझसम्म लर्को लाग्ने गरेको छ। यहाँको अस्थायी तरकारी बजारमा पनि बिहानै कर्णालीको स्याउ बिक्री गर्ने महिलाहरूको बाक्लो उपस्थिति हुने गरेको छ।
नेपालगञ्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेको नेपालगञ्ज-२१ नयाँवस्तीकी सिर्जना थापाले चाडवाडमा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताइन्।
“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट अन्यत्र जाँदा तीज, दसैँ र तिहारमा कोसेलीका रुपमा लैजान सहज भएको छ”, उनले भनिन्, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ।”
बिक्री वितरण बढ्दो
नेपालगञ्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ। यातायातको सीधा पहुँच भएसँगै कर्णालीको जुम्ला लगायतका जिल्लाबाट सुर्खेत र नेपालगञ्जमा स्याउ आउने गरेको छ। जुम्लाका फलफूल व्यवसायी र किसान मार्फत नेपालगञ्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले माग अनुसार देशभर कर्णालीको स्याउ बेच्ने गरेको नेपालगञ्जका थोक बिक्रेता प्रेमलाल साहुले बताए।
उनका अनुसार गतवर्ष नेपालगञ्जबाट मात्रै करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो। यो वर्ष पाँच हजार क्विन्टल बिक्री हुने अनुमान छ। “अहिलेको उत्पादनले नेपाली बजार तीन महिना मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ”, साहुले भने, “उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने हो भने नेपालको कूल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ।”
कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका छन्। टिपाइ, ग्रेडिङ, प्याकिङ लगायतमा ध्यान दिन सके कर्णालीको स्याउ नेपालभर बेच्न सकिने व्यवसायी साहुको भनाइ छ।
किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उनले सरकारले स्याउ खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १ आश्विन २०८२ १२:५९ बुधबार





