१५ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

कनकासुन्दरी स्वास्थ्य शिविरः ६ सय ३८ लाभान्वित

जुम्लाको दुर्गम कनकासुन्दरी गाउँपालिकामा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरले स्थानीय महिलाहरूको लुकेको पीडा सतहमा ल्यायो।  

गाउँपालिका स्वास्थ्य शाखा र क्याड नेपालको समन्वयमा हाटसिंजा–४ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ सय ३८ स्थानीय लाभान्वित भए। तर यो संख्या तथ्य मात्र नभई उपचारको अभावले बोकेको पीडाको प्रतिबिम्ब पनि हो।  

कर्णालीका ग्रामीण महिलाहरूको जीवन निरन्तर श्रम र परिवारको हेरचाहको चक्रमा बाँधिएको छ। पानी, दाउरा, घाँस, खेतीपाती, घरधन्दा र सन्तानको हेरचाहबीच आफ्नो स्वास्थ्य प्रायः पछाडि पर्छ। पाठेघरसम्बन्धी समस्या लाज, डर र स्वीकारको जकडमा वर्षौँसम्म लुकाइन्छ। कनकासुन्दरी–५ की ४६ वर्षीया नन्दकन्या उपाध्याय भन्छिन्,‘घरमै उपचार गर्न पाउँदा खुसी छु। म नाक र घाँटीको समस्याले पिडित थिएँ। शिविरले विशेषज्ञ डाक्टरबाट जाँच, औषधी र सल्लाह सुझाव उपलब्ध गरायो। सदरमुकाम जान–आउन समस्या थियो, शिविरले निकै राहत दिएको छ। पहिले भन्न सकिएन।’  

यस्तै, ५२ वर्षीया छत्तु जिसीले थपिन्,‘घरमै डाक्टर आउँदा मन खुलेर रोग भन्न पाइयो। हामीलाई पनि सुन्ने कोही छ भन्ने लाग्यो।’ उनी पाठेघरसम्बन्धी बिरामी थिइन्। लामो समय घरमै रोग थन्क्याइरहेकी जिसीलाई डाक्टरले घरमै जाँच गरेपछि मख्ख र राहत महसुस भयो। उनलाई डाक्टरले आराम गर्न, औषधी तालिकाअनुसार खान, भारी नबोक्ने र समस्या आए स्वास्थ्यकर्मी कहाँ सम्पर्क गर्ने भन्ने सुझाव दिएका थिए।

अर्की स्थानीय ६२ वर्षीया उर्वा उपाध्याय भन्छिन्, ‘शिविरले हामीलाई औषधी मात्र दिएन, हामीलाई अस्तित्वको आवाज दिन पनि सके। म दाँतको रोगी थिएँ, उपचारपछि हर्षित छु।’

स्वास्थ्य शाखा निरीक्षक बिरेन्द्र प्रसाद उपाध्यायका अनुसार, शिविरमा विभिन्न रोगका नाक, कान, घाँटीका १ सय ३८, दाँतका १ सय १८, पाठेघरसम्बन्धी १ सय ३८, सुगरका ९१, गर्भवती महिलाको भिडियो एक्सरे ३८ र हाडजोर्नी तथा अन्य रोगका १ सय ५ जनाले सेवा लिएका छन्।  

सदरमुकाम पुग्नुपर्ने दूरी, कठिन बाटो, महँगो यातायात र होटल खर्चले धेरै महिलालाई स्वास्थ्य सेवाबाट वञ्चित बनाउँछ। यही कारण यस्ता शिविर अस्थायी राहत मात्र होइन, महिलाको पीडालाई मान्यता दिने दुर्लभ अवसर बनेका छन्। क्याड जुम्लाका परियोजना संयोजक राजेश प्रकाश यरिकाका अनुसार प्लान इन्टरनेशनल नेपाल, क्याड नेपाल र किर्डाक नेपालको आर्थिक सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहकार्यले शिविर सम्भव भएको ह। सहकार्य र इच्छाशक्ति भए दुर्गम भेगमा सेवा पुर्‍याउन असम्भव नरहेको उनले बताए।  

यस्तै, गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायले यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाए। त्यसैगरी, स्वास्थ्यकर्मीहरूले दीर्घकालीन समाधानका लागि स्थायी स्वास्थ्य संरचना, दक्ष जनशक्ति, नियमित औषधी आपूर्ति र स्वास्थ्य सचेतना आवश्यक रहेको औल्याए।  

कनकासुन्दरीको शिविरले केवल उपचार दिएको छैन, यसले कर्णालीका ग्रामीण महिलाहरूको मौन पीडालाई दृश्यमा ल्याएको छ। 

प्रकाशित: १५ चैत्र २०८२ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App