२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

फोन गर्नकै लागि डाँडा चढ्छन् कफलकोटवासी

फाइल तस्बिर

बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेपछि स्थानीय समस्यामा छन्।  दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेपछि टावरले काम गर्न छाडेपछि फोन गर्नकै लागि डाँडा चढ्न बाध्य छन्,। 

यहाँ करिब साढे तीन सय घरधुरी रहेको छ। फोन गर्न र इन्टरनेट सेवाकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य रहेका स्थानीय कृष्ण भाटले बताए। उनले भने, ‘फोनको लाइन नआउँदा डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता छ । कुनै आकस्मिक कामका लागि कतै फोन गर्नुपरेमा निकै समस्या हुने गरेको छ।’

यहाँका स्थानीय बासिन्दा अन्य सञ्चार सुविधाबाटपनि  वञ्चित भएका छन्। मोबाइलमा नेटवर्क नआउने र इन्टरनेट सेवाबाट समेत यहाँका बासिन्दा संचारका सबै माध्यमबाट टाढा भएका छन्। टावर स्थापनापछि खुसी भएका यहाँका स्थानीय हाल भने निराश छन्। टावर सञ्चालन भएको छ महिनासम्म इन्टरनेट र मोबाइल सेवा राम्रै काम गरे पनि डेढ वर्षदेखि समस्या भएको हो। 

तल्लागाउँ, पातली, सिराड, बसाड, सल्याडलगायत बासिन्दा फोन गर्नकै लागि डाँडा चढ्ने गरेका छन्। फोन र इन्टरनेट सुविधा पाउनसमेत गाह्रो रहेको स्थानीय प्रताप महराले बताए। उनले भने, ‘गाउँघरमा फोनको लाइन आउँदैन, माथि डाँडा गएर फोन गर्नुपर्छ, समस्या समाधानका लागि टेलिकम सुन्दैन।’

फोन र इन्टरनेट सुविधा नहुँदा कफलकोटमै रहेको रौलेश्वर माविलाई पनि कामकाजमा समस्या हुने गरेको छ। विद्यालयका प्रधानाध्यापक नरेन्द्र भाटले अनलाइनबाट गरिने कुनै पनि काम गर्न समस्या रहेको बताए। ‘अनलाइनसम्बन्धी काम गर्न निकै समस्या छ । कागजपत्र झोलामा बोकेर सिल्लेगडा, खोचलेक बजार धाउनुपर्ने बाध्यता छ। आकस्मिक फोन गर्नुपरेमा माथि डाँडा उक्लिनुपर्छ।’टावरले काम गर्न छाडेको विषयमा नेपाल टेलिकम बैतडीलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको यहाँका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको गुनासो छ।

दोगडाकेदार गाउँपालिका–२ को कार्यालयले टावरले काम गर्न छाडेको र समस्या समाधानका लागि पटकपटक लिखित रूपमा टेलिकमलाई आग्रह गरेको भए पनि हालसम्म पनि समस्या समाधान भएको छैन । टावरमा रहेको समस्याका बारेमा लिखित र मौखिक रूपमा टेलिकम कार्यालयलाई जानकारी गराए पनि समस्या हल नभएको वडा नं २ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए। फोन गर्नकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य छन्। उनले भने, ‘टावरमा समस्या रहेकोबारे पटकपटक लिखित रूपमा पनि आग्रह गरेका छौँ, तर हालसम्म पनि कुनै सुनुवाइ भएको छैन।’

नेपाल टेलिकम बैतडीका प्रमुख नारायण भट्टले धुरा टावरमा टुजी सुविधा नरहेकाले फोनको नेटवर्कमा समस्या भएको बताए।  उनले भने, ‘धुरा टावर फोरजीमात्र सञ्चालनमा छ। टुजी नहुँदा फोनमा समस्या भएको हो।’

टुजी थप्ने काम केही दिनमै हुने र नेटवर्कको समस्या समाधान हुने उनकोे दाबी छ । उनले भने, ‘धुरा टावरमा टुजी थप्ने तयारीमा छौँ । भदौ महिनाभित्र टुजी थप्छौँ। भदौपछि फोन गर्नकै लागि डाँडा चढ्नुपर्ने बाध्यता रहँदैन होला।’

यसका साथै धुरा टावरमा विद्युत्को सिङ्गल फेज लाइनमात्र रहेकाले पनि समस्या आउने गरेको उनले बताए। उनले भने, ‘सिङ्गल फेज लाइनमात्र रहेकाले बिजुली गएको बेला नेटवर्कमा पनि समस्या देखिन जाने गरेको हो ।’ प्रमुख भट्टले धुरा टावर अपग्रेड गर्ने तयारी रहेको पनि बताए। रासस

प्रकाशित: १६ श्रावण २०८२ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App