७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

ट्राउट माछा पालनबाट आत्मनिर्भर बन्दै जुम्लाका युवा

राजेन्द्र बुढाको माछा पालन फार्म। तस्बिर: गोल्डेन/नागरिक

जुम्लामा पछिल्लो समय माछा पालनबाट आत्मनिर्भर बन्ने किसानको संख्या बढ्दो छ। आवश्यक प्राविधिक ज्ञान हासिल गर्दै उनीहरू व्यावसायिक रूपमा यस क्षेत्रमा लागिपरेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिका–९ पिपल गाउँका देवन्द्रराज गिरी र नगरपालिका-६ छिना गाउँका दिलक रावल विगत ६ वर्षदेखि रेन्बो ट्राउट जातका माछा पालन गर्दै आएका छन्। उनीहरूले २०७७ सालमा नुवाकोटबाट १५ हजार भुरा ल्याएर ‘उच्च हिमाली मत्स्य तथा कृषि पशुपालन समूह’ फर्म सञ्चालन गरेका हुन्। तर, प्रारम्भिक चरणमा प्राविधिक ज्ञान अभावका कारण भुरा जोगाउन सकेनन्।

‘प्राविधिक ज्ञान पनि थिएन,’ रावल भन्छन्, ‘त्यतिबेला एउटा भुरा जुम्लासम्म ल्याउँदा १९ रुपैयाँ लागत पर्थ्यो।’ त्यसपछि अध्ययन र अनुभवसँगै उनीहरूले हरेक वर्ष पोखरीमा भुरा छाड्दै आएका छन्। गिरीका अनुसार पहिलो वर्ष अनुभवमै सीमित भयो भने दोस्रो वर्षदेखि केही उत्पादन बिक्री गर्न सफल भए। ‘अहिले पोखराबाट ठूला माछा ल्याएर पोखरीमा राखेका छौं,’ उनले भने, ‘डेढ क्विन्टल माछा ल्याएर राखेका छौं, अब यिनैबाट भुरा उत्पादन गर्ने लक्ष्य छ।’

हालसम्म ९० हजारभन्दा बढी भुरा पोखरीमा राखिसकिएको उनीहरूको भनाइ छ। यद्यपि, परीक्षणकै चरणमा रहेकाले आम्दानी अझै सन्तोषजनक हुन सकेको छैन। बजारमा रेन्बो ट्राउट प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री हुने भए पनि उनीहरूले १ हजार ३ सय रुपैयाँमा बिक्री गर्दै आएका छन्। एउटा ठूलो पोखरीलाई ५ क्यानलमा विभाजन गरिएको छ, जहाँ एउटा क्यानलबाट डेढ क्विन्टलसम्म उत्पादन हुने गरेको छ।

गिरीले सात वर्षअघि घरनजिकैको नाउलोमा भुरा छाडेर परीक्षण सुरु गरेका थिए। तर, हिउँ परेर सबै माछा मरेपछि उनले इन्टरनेटमार्फत अध्ययन गरेर पुनः व्यवसाय सुरु गरेको बताए। ‘चिसो हावापानीमा ट्राउट राम्रोसँग हुर्किने भएकाले व्यावसायिक रूपमा सुरु गरेका हौं,’ उनले भने, ‘अहिलेसम्म करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ।’ 

भविष्यमा माछापालन स्थलमै होटल सञ्चालन गर्ने योजना समेत रहेको उनले जानकारी दिए। अहिले उत्पादन भएका माछा सदरमुकाम खलंगा र आसपासका बजारमा खपत भइरहेको छ भने भविष्यमा सुर्खेत, नेपालगञ्ज, मुगु र कालिकोटसम्म विस्तार गर्ने लक्ष्य रहेको रावलले बताए।‘चिसो पानीमा हुर्किने भएकाले स्वादिष्ट हुन्छ, माग पनि धेरै छ,’ रावल भन्छन्, ‘तर जुम्लामा माछा विज्ञको अभावले समस्या छ।’

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार कार्यालयमा माछा विशेषज्ञ नभएकाले प्राविधिक सहयोग दिन कठिन भइरहेको छ। ‘सामान्य ज्ञान आदानप्रदान भइरहेको छ, तर पर्याप्त प्राविधिक सेवा दिन सकिएको छैन,’ उनले भने, ‘हालसम्म ठूला रोग देखिएका छैनन्, तर देखिए ठूलो क्षति हुन सक्छ।’

आगामी वर्ष किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने तयारी भइरहेको उनले बताए। यस्तै, पातारासी गाउँपालिका–६ बाता गाउँका राजेन्द्र बुढा विगत १२ वर्षदेखि माछा पालनमा सक्रिय छन्। ‘राजस्व कृषि फार्म’ सञ्चालन गर्दै आएका उनले २ सय ३५ वर्ग मिटर क्षेत्रमा पोखरी निर्माण गरेका छन्। ‘चिसो हावापानी माछा पालनका लागि उपयुक्त छ,’ उनले भने, ‘यसबाट राम्रो आम्दानी लिन सकिन्छ।’

सुरुआती चरणमा असफलता भोगेका उनले दोस्रो प्रयासमा सफलता पाए। रसुवाबाट ल्याइएका ३० हजार भुरामध्ये २० हजार हुर्किएको उनले बताए। तीमध्ये १० हजार बिक्री गरिसकेका छन् भने बाँकी पोखरीमै छन्। तीन वर्षदेखि आम्दानी लिन थालेका उनले हालसम्म ७ लाख ३२ हजार रुपैयाँ बराबरको माछा बिक्री गरिसकेका छन्।

कुल लगानी १७ लाख ७५ हजार रुपैयाँ पुगेको छ। पोखरी सदरमुकामबाट टाढा भएकाले ग्राहकलाई घरमै पुर्याउने व्यवस्था मिलाएको उनले बताए। सदरमुकाम खलंगादेखि झण्डै ८ किलोमिटर टाढा माछा पोखरी भएकाले सबैले माछा ल्याउन पोखरीमै जान सक्दैनन्। ‘सदरमुकामबाट अर्डर गर्छन्,’ बुढाले भने। साथै उनले डोल्पा र सिंजामा समेत भुरा पठाएर अन्य किसानलाई प्रोत्साहित गर्दै आएका छन्।

उता, पातारासी–६ घोडासिन गाउँका गणेश बुढाले पनि २०७७ सालबाट माछा पालन सुरु गरेका हुन्। प्रारम्भमा परीक्षणका रूपमा सुरु गरेका उनले अहिले व्यावसायिक रूपमा विस्तार गरेका छन्। ‘गणेश कृषि तथा पशुपन्छी पालन उद्योग’ सञ्चालन गर्दै आएका उनले हाल दुईवटा पोखरीमा ५ हजार भुरा पालन गरेका छन्। प्रतिकिलो १ हजार ८ सय रुपैयाँका दरले ४५ केजी माछा बिक्री गरिसकेका उनले थप १ क्विन्टल ७० केजी माछा बजारका लागि तयारी अवस्थामा रहेको बताए।

वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेशमै केही गर्ने सोचका साथ माछा पालन रोजेको उनले सुनाए। ‘सधैं विदेश जानु समाधान होइन,’ उनले भने, ‘गाउँमै केही गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय रोजेको हुँ।’

सन् २०१२ मा गणेश पहिलोपटक वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । त्यहाँबाट २०१४ मा घर फर्किएर फेरि सन् २०१५ मा कुबेत गएका थिए। जुम्ला समुद्री सतहबाट २ हजार ६ सय ६८ मिटर उचाइमा अवस्थित छ। यहाँको चिसो, सफा र बग्ने पानी ट्राउट माछा पालनका लागि उपयुक्त मानिन्छ।

पछिल्लो समय माछा पालनले स्वदेशमै रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बन्ने सम्भावना देखाएको किसानहरू बताउँछन्।

प्रकाशित: ४ वैशाख २०८३ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App