४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जुम्लाको स्याउ खेती : बगैँचामै सुधार अभियानले नयाँ जीवन पाएँ

स्याउ बगैँचा काटछाँट गर्दै किसान <br>

जुम्लाको कठोर भूगोलमा स्याउ खेती केवल कृषि मात्र होइन, यहाँको जीवनशैली, रोजगारी र स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो। हजारौं घरधुरीको आम्दानी, युवाको रोजगारी र जिल्लाको पहिचान स्याउसँग गाँसिएको छ। तर पछिल्ला केही वर्ष यता यही स्याउ खेती संकटमा परेको तथ्यांकले देखाउँछ।

उत्पादन घट्नु, रोगको बढ्दो समस्या, फलको आकार र गुणस्तर कमजोर हुनु, र बजार प्रतिस्पर्धामा पछि पर्नु, यी सबैले जुम्लाको स्याउलाई ‘संभावना हुँदाहुँदै कमजोर बनेको उत्पादन’को सूचीमा राखिदिएका छन्।

कृषि विकास कार्यालय जुम्लाका प्राविधिकहरूका अनुसार समस्या केवल मौसम वा भूगोलमा होइन, बगैँचा व्यवस्थापनमा थियो। अधिकांश स्याउ बगैँचामा वर्षौंदेखि काँटछाँट गरिएको थिएन। विरुवाहरू अनावश्यक रूपमा फैलिएका थिए, जसले घाम र हावाको प्रवाह रोक्थ्यो। फल लाग्ने हाँगामा शक्ति खर्चिनु पर्ने सट्टा अनावश्यक हाँगामा ऊर्जा जाँदै थियो।

त्यसमाथि रोग व्यवस्थापन अझै कमजोर थियो। किसानले रोग देखेपछि मात्र औषधि प्रयोग गर्थे, त्यो पनि अनुमानका आधारमा। निलो तुथो, चुन, बोडो मिक्सचर जस्ता वैज्ञानिक उपायको सही मात्रा र समयबारे अधिकांश किसान अनभिज्ञ थिए।

तर गहिरो समस्या कृषि विस्तार प्रणालीमा देखिन्थ्यो। विगतमा स्याउ खेतीसम्बन्धी तालिम प्रायः सदरमुकाम वा बाहिरी जिल्लामा सीमित हुन्थे। किसान केही दिन सैद्धान्तिक ज्ञान त लिने गर्थे, तर आफ्नै बगैँचामा फर्किएपछि त्यो ज्ञान प्रयोग गर्न सक्दैनथे।

No description available.

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी स्वीकार्छन् । उनले भने, ‘हामी किसानलाई कार्यालय बोलाउँथ्यौं, तर समस्या त बगैँचामै थियो।’

यही आत्मस्वीकृतिले जुम्लाको स्याउ खेतीमा संरचनात्मक परिवर्तनको सुरुआत गर्यो। यस वर्षदेखि कृषि विकास कार्यालयले स्याउ फलिरहेको किसानको बगैँचामा पुगेर काँटछाँट, बगैँचा व्यवस्थापन र रोग नियन्त्रणको व्यावहारिक अभ्यास सुरु गरेको छ। यो अभ्यासलाई कृषि क्षेत्रमा ‘गेम चेञ्जर’का रूपमा हेरिएको छ।

बगैँचामा सिकाइ हुँदा किसानले आफ्नै विरुवाको अवस्था देख्छन् । कुन हाँगा काट्ने, कुन जोगाउने, रोग कहाँबाट सुरु भएको, कसरी रोक्ने। ज्ञान अब किताबमा होइन, हातमा पुग्न थालेको छ। प्रशिक्षक शिव रावत भन्छन्, ‘हामी किसानलाई एउटा विरुवाले १०–१५ वर्षसम्म गुणस्तरीय फल दिन कसरी तयार हुन्छ भन्ने बुझाइ विकास गरिरहेका छौं। राम्रो व्यवस्थापन भयो भने बजार खोज्न किसानलाई होइन, व्यापारी आफैं बगैँचामा आउँछ।’

जुम्लाको चन्दननाथ नगरपालिका–९ को बयालकाटियाबाट सुरु भएको अभियान अहिले जिल्लाका ८ वटै स्थानीय तहमा फैलिएको छ। कृषि विकास कार्यालयले ६० वडामध्ये ३० वडामा स्थानीय कृषि शाखासँग समन्वय गरेर प्रत्यक्ष सीप हस्तान्तरण गर्ने योजना बनाएको छ।

यसअघि सुर्खेतमा हुने भनिएको स्याउ काँटछाँट तालिम यसपटक जुम्लामै सञ्चालन भयो। १३ जना कृषि प्राविधिकलाई ‘प्रशिक्षकका प्रशिक्षक’ तयार पारिएको छ, ताकि सीप दीर्घकालीन रूपमा जिल्लामै रहोस्।

स्थानीय किसान सम्झना गिरी भन्छिन्, ‘पहिला स्याउ त फल्थ्यो, तर किन सानो भयो, किन कुहियो भन्ने थाहा थिएन। अहिले दुई सयभन्दा बढी विरुवाको व्यवस्थापन आफैं गर्न सक्छु।’

उनको भनाइले देखाउँछ, आत्मनिर्भरता नै दीर्घकालीन समाधान हो। सधैं प्राविधिकको भर पर्नु सम्भव छैन, किसान आफैं दक्ष हुनु जरुरी छ।

कृषि कार्यालयका तथ्यांक अनुसार, चालु आर्थिक वर्ष जुम्लामा १७,५५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसमध्ये ५,५९१ मेट्रिक टन जिल्ला बाहिर निर्यात भई ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ आम्दानी भएको छ।

No description available.

गत आर्थिक वर्ष २०८१/८२ मा १९,८४० मेट्रिक टन उत्पादन भई ९,३३१ मेट्रिक टन निर्यात भएको थियो, जसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।

यस वर्ष स्याउ खेती ४,३२५ हेक्टरबाट ४,४४५ हेक्टर पुगेको छ। फल दिने क्षेत्र २,००० हेक्टरबाट २,१२५ हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्यामा पनि बृद्धि भएको छ, १९,१२५ बाट १९,१५० पुगेको छ। बिक्री–वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ्दो छ।

तर अघिल्लो वर्ष उत्पादन र निर्यात दुवै बढी थियो। यसले देखाउँछ, क्षेत्रफल बढे पनि गुणस्तर र निरन्तरता चुनौतीमै छ।

जुम्लामा सुरु भएको यो अभ्यास साधारण तालिम होइन। कार्यालयबाट होइन, बगैँचाबाट नीति कार्यान्वयन हो। निरन्तरता, स्थानीय तहको अपनत्व र बजेट–नीतिले साथ दिए भने जुम्लाको स्याउ खेती आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बन्ने विश्वास लिइएको छ।

प्रकाशित: २५ पुस २०८२ १८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App