३ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

कुशको श*व बनाएर पत्रकार थामीको अन्त्येष्टि

भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए। दोलखाको कालीञ्चोक गाउँपालिका-२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका थामीको प्रतीकात्मक शवमा उनका पिता डीलबहादुर थामीले दागबत्ती दिए।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गरेको योगदानको स्मरण गरिएको छ।

पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गरेका थिए। उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राखेका थिए।

गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष थिए।

चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेका थिए।

पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको झण्डा ओढाएकी थिइन् भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

अन्त्येष्टिमा पूर्वमन्त्रीहरु पार्वत गुरूङ, आनन्द पोखरेल, रासस र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक, कानुन क्षेत्रका अगुवा र सहकर्मीहरुको उपस्थिति थियो। स्वर्गीय थामी राससकर्मी कालिका खड्काका श्रीमान् हुन्।

प्रकाशित: ३ आश्विन २०८३ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App