३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधानले नागरिकलाई आलोचना गर्ने अधिकार दिएको छ : सांसद कार्की

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संविधानले नागरिकलाई आफ्ना विचार निर्धक्क राख्ने र आलोचना गर्ने अधिकार दिएको बताएका छन्।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कार्कीले यस्तो बताएका हुन्। उनले लोकतान्त्रिक हदभित्र रहेर अधिकारको प्रयोग गर्नुपर्ने बताए।

संविधानको धारा १७(२)(क) ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको अधिकार दिएको उनले उल्लेख गरेका छन्।

उनले संविधानले आफ्नो अधिकार प्रयोग गर्ने नाममा अरूको अधिकारमाथि हस्तक्षेप गर्न नहुने पनि स्पष्ट गरेको बताएका छन्। संविधानले आफ्नो हात फैलाउने नाममा अर्कालाई ‘कुहिनाले हान्न’, ‘कान तान्न’ र ‘ओठ बन्द गराउन’ नहुने व्यवस्था गरेको उनको भनाइ छ। यसका लागि उनले संविधानको धारा १७ र धारा १९ को प्रतिबन्धात्मक व्यवस्थातर्फ संकेत गरेका छन्।

त्यस्तै, संविधानले दिएको अधिकार संविधानले तोकेको लोकतान्त्रिक हदभित्र रहेर प्रयोग गर्नु नागरिकको कर्तव्यसमेत भएको उनले बताएका छन्। यसका लागि उनले संविधानको धारा ४८ को उल्लेख गरेका छन्।

‘संवैधानिक विवेक सबैमा आओस्। व्यवहारमा लोकतन्त्र देखियोस्,’ कार्कीले भनेका छन्। उनले संविधान दिवसको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गरेका छन्।

प्रकाशित: ३ आश्विन २०८३ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App